धनगढी — सुदूरपश्चिम प्रदेशमा गएको एक वर्षमा विभिन्न सवारी दुर्घटनामा १७२ जनाको मृत्यु भएको छ । आर्थिक वर्ष २०८०/८१ मा भएको सवारी दुर्घटनामा उनीहरूको मृत्यु भएको हो । गत वर्ष दुर्घटनामा परी मृत्यु हुनेको संख्या अघिल्लो आर्थिक वर्षकाे तुलनामा कम छ ।कैलालीको अत्तरियास्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयको तथ्यांक अनुसार गत आर्थिक वर्षमा सुदूरपश्चिमका ७ पहाडी तथा २ तराईका जिल्लामा विभिन्न सवारी दुर्घटनामा १७२ जनाको मृत्यु भएको हो । अघिल्लो आर्थिक वर्षमा १७७ जनाले दुर्घटनामा ज्यान गुमाएका थिए । गत आवमा ४०६ सवारी साधन दुर्घटनामा परेका थिए भने अघिल्लो आर्थिक वर्षमा ३२० सवारी साधन दुर्घटना भएका थिए । ‘गत आर्थिक वर्षमा प्रदेशका पहाड र तराई क्षेत्रमा एकै ठाउँमा धेरैको ज्यान जाने गरी ठूलो दुर्घटना भएन,’ राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रहरी निरीक्षक राजेन्द्रबहादुर चन्दले भने, ‘अधिकांश कार, जिप तथा मोटरसाइकल लगायतका साना सवारी दुर्घटना भएका छन् ।’ उनका अनुसार गत अर्थिक वर्षभरि भएका ४०६ सवारी दुर्घटनामध्ये सवैभन्दा बढी २०७ मोटरसाइकल दुर्घटनामा परेका छन् । बढी दुर्घटना हुने अन्य ठूला सवारी साधनमा ट्र्याक्टर, बस, ट्रक रहेका छन् भने टेम्पो दुर्घटना पनि बढ्दै गएको प्रहरी निरीक्षक चन्दले बताए ।

   प्रहरी अभिलेख अनुसार विभिन्न सवारी दुर्घटनामा परी गत आवमा २६७ जना गम्भीर घाइते भएका थिए । जुन अघिल्लो आर्थिक वर्षमा भन्दा बढी हो । आव २०७९/८० मा गम्भीर घाइते हुनेको संख्या १९७ थियो । प्रहरी निरीक्षक चन्दका अनुसार दुर्घटना न्यूनीकरणका लागि केन्द्रको वार्षिक लक्ष्य र नीति निर्देशनअनुसार विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहे पनि सवारी दुर्घटना खास गरी सुदूरपश्चिममा मोटरसाइकल र ट्र्याक्टर दुर्घटनाबाट हुने मानवीय क्षति न्यूनीकरण भने चुनौतीपूर्ण नै रहेको छ । ‘सुदूरपश्चिमका ९ जिल्लामा दैनिक ७ देखि ९ वटासम्म सवारी दुर्घटना हुने गरेको छ,’ चन्दले भने, ‘बढी जनसंख्या र सवारीको चापले पनि कैलाली र कञ्चनपुरमा पहाडी जिल्लाका तुलनामा स्वाभाविक रूपले बढी दुर्घटना हुने गरेको छ ।’

   सुदूरपश्चिम ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरणसँगै ट्राफिक नियम उल्लंघनका घटना रोकथामका लागि त्रिवर्षीय जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको थियो । जसअनुसार आव २०७७/७८ देखि गत आवसम्म सुदूरपश्चिमका ९ जिल्लामा ६ हजार ६२६ पटक सञ्चालन गरिएको कार्यक्रमबाट ३ लाख ८९ हजार २६६ जना लाभान्वित भएको प्रहरीको भनाइ छ । यसैगरी गत आवमा विभिन्न सवारी साधनको चेकजाँचका क्रममा कारबाही गरिएका सवारी साधन र चालकहरूबाट ४ करोड ८९ लाख ७ हजार राजस्व संकलन गरिएको थियो । हालका वर्षमा क्षमताभन्दा बढी यात्रु ओसारपसार गर्ने, बसको छतमा समेत यात्रा गर्ने र सामान ढुवानी गर्ने तथा तीव्र गतिमा सवारी सञ्चालन गर्ने, लेन अनुशासन अवज्ञा गरी ट्राफिक नियम उल्ल्लंघन गर्ने घटना कम भएको ट्राफिक प्रहरीको दाबी छ । छाडा चौपायाका कारण पनि राजमार्गमा सवारी दुर्घटना बढ्न थालेको छ । गत आवमा मात्रै राजमार्गमा १३ चौपायाको सवारी साधनसँग ठोक्किएर मृत्यु भएको छ । दसैं–तिहारजस्ता चाडपर्वका बखत पहाडी रुटमा आउजाउ बढेका बखत हुने यात्रुहरूको चाप नियन्त्रण, सवारी साधनको चेकजाँच, सवारीको गति नियन्त्रण, एउटै चालकले लामो दूरीसम्म गाडी चलाउने जस्ता ट्राफिक नियम उल्लंघन भइ हुने गरेका दुर्घटना रोकथामका लागि अझै प्रभावकारी ढंगले काम हुन नसकेको जनगुनासो छ । अत्तरियास्थित ट्राफिक व्यवस्थापन कार्यालय स्रोतका अनुसार सुदूरपश्चिममा ११ सहित ६१ युनिटबाट ट्राफिक प्रहरीले सेवा प्रदान गर्दै आएको छ । तर जसरी सवारी साधनको चाप र सडक विस्तार हुँदै गएको छ, त्यसको अनुपातमा प्रहरी दरबन्दी र स्रोत साधन पनि बढाउँदै लैजानु आवश्यक छ । कान्तिपुरबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय