दार्चुलाः–२०८० सालको एसइइ (कक्षा १०) ग्रेडबृद्धि पुरक परिक्षाका लागि जिल्लामा पाँच वटा केन्द्र कायम गरिएका छन् । २०८१ साउन २३ गते देखी ३१ गते संचालन हुने एसइइ पुरक परीक्षाका लागि केन्द्रहरु कायम गरिएको शिक्षा विकास तथा समन्वय ईकाइ दार्चुलाका सूचना अधिकारी एवं प्राविधिक सहायक लक्ष्मी प्रसाद जाेशीले जानकारी दिनुभयो । परिक्षामा सामेल भई ग्रेड प्राप्त गर्न नसकेका तथा अनुपस्थित भएका सबै परिक्षार्थीले ग्रेड बृद्धि गर्न पुरक परिक्षामा भाग लिन पाउने उहाले बताउनुभयो ।
दार्चुला जिल्लाबाट ग्रेड बृद्धिका लागि १ हजार ३ जना छात्रा तथा ८ सय ५० जना छात्र गरी १ हजार ८ सय ५३ जनाले परिक्षामा सहभागिता जनाउने उहाँले बताउनुभयो । ग्रेडबृद्धि परिक्षा संचालनका लागि मालिकार्जुन नमुना माध्यमिक विद्यालय धाप, महेन्द्र नमुना माध्यमिक विद्यालय खलंगा, गोकुलेश्वर माध्यमिक विद्यालय गोकुलेश्वर, लटिनाथ माध्यमिक विद्यालय रस्कोट मार्मा, र लटिनाथ माध्यमिक विद्यालय चन्दनपुर चौपाता लेकममा गरी कुल पाँच वटा केन्द्र कायम गरिएको उहाले बताउनुभयो ।
मालिकार्जुन नमुना माध्यमिक विद्यालय धाप केन्द्रमा महाकली नगरपालिका भित्र रहेका सबै विद्यालयका परिक्षार्थीहरुले सहभागिता जनाउन पाउने छन् । सोही विद्यालयका प्राविधिक धार बाहेक अन्य विद्यार्थीहरुले उक्त केन्द्रमा सहभागिता जनाएर परिक्षा दिन पाउने छन् । महेन्द्र मावि खलंगामा ब्याँस, दुहुँ, नौगाड, मालिकार्जुन गाउँपालिकाका सबै तथा अपिहिमाल गाउँपालिका र महाकाली नगरपालिकाका प्राविधिक धार तर्फका विद्यार्थीहरुले सहभागिता जनाउन पाउने छन् ।
गोकुलेश्वर केन्द्रबाट शैल्यशिखर नगरपालिका अन्तरगतका सबै विद्यालय, लटिनाथ मावि रस्कोट मार्मा केन्द्रबाट मार्मा गाउँपालिकाका सबै विद्यालय र अपिहिमाल गाउँपालिकाका प्राविधिक धार बाहेकका विद्यार्थीहरुले उक्त केन्द्र मार्फत परिक्षामा सहभागिता जनाउन पाउने छन् । लेकम गाउँपालिकाको लटिनाथ मावि चन्दनपुर मावि केन्द्रबाट लेकम गाउँपालिका अन्तरगतका सबै विद्यालयहरुका विद्यार्थीहरुले सहभागिता जनाउन पाउने छन् ।
