कञ्चनपुर — कोही परम्परागत पहिरनमा सजिएका छन् कोही सामान्य । घरको आँगनमा बनाइएको सावनको डोला (काठको फ्ल्याकलाई मोटो डोरीले बाँधेर झुण्ड्याइएको) मा सबै पालै पालो झुलिरहेका छन् । एक जनाले डोलालाई धकेलिरहेका छन् । कञ्चनपुरको भीमदत्त नगरपालिका १४ र १६ का रानाथारु महिलाहरुले यसरी नै तीज मनाइरहेका छन् । तीन साताअघि आँगनमा बनाइएको सावनको डोलामा झुल्दै उनीहरुले तीज मनाइरहेका हुन् । साउन पुर्णिमाका दिन सावनको डोला राखेर रानाथारुहरुको तीज सुरु हुन्छ । त्यसपछि हरेक दिन साँझपख खाना खाएर देवी देउताका र भाइ बहिनीको दीर्घायु सम्बन्धी गीत गाउँदै डोलामा झुल्छन् । साउन शुक्ल तृतियाका दिन घरमा मिठा परिकारहरु पकाएर पुजाआजा गरिन्छ । सावनको डोलाको पनि पुजा गरिन्छ । काँशजस्तै वनस्पतिको पातमा विवाहिता महिलाले ७ र अविवाहितले ५ वटा गाँठा पारेर त्यसलाई चाँदिको सिक्काले काटिन्छ । रानाथारु भाषामा यसलाई झुड्की भनिन्छ । त्यसपछि घरमा पाकेका परिकार र झुड्कीलाई ब्रतालु महिलाहरुले नजिकैको नदीमा विसर्जन गर्छन् । त्यसपछि तीज समापन हुन्छ । ‘छोरी बहिनीहरु तीजका लागि रोपाँई सकेर एक/डेढ महिनादेखि नै माइती आउछन्,’ भीमदत्त नगरपालिका-१४ नयाँ कटानकी वसन्ती रानाले भनिन्, ‘महिलाहरुले भाई भतिजाहरुको दीर्घायुको लागि यो ब्रत बस्छन् ।’ साउन पुर्णिमाका दिन जंगलबाट बलियो काठ ल्याएर डोला जडान गरिन्छ । तर अचेल नजिक जंगल नभएका कारण फलामको डण्डामा डोरी बांधेर डोला बनाइएको नाथुराम रानाले बताए ।

   डोला जडान गरेपछि सुरुमा कमिला संकलन गरिनछ । त्यसपछि तिनै कमिलालाई डोलामा हिडाइन्छ । ‘कमिलाको ताँती जस्तै दाई भाईको दीर्घायु होस् भन्ने कामना गरिन्छ,’ रानाले भने, ‘त्यसपछि कांश जस्तै वनस्पतिमा गाँठा पारेर नदीमा बगाइन्छ, नदी जस्तै भाई भतिजाको आयु लामो होस भन्ने नै हो ।’ तीजको अन्तिम दिन महिलाहरु बिहानै घाँस पात गरेर विभिन्न परिकारहरु पकाउँछन् । सिमही, पुरी, पापडहरु र चामलको पीठोमा मिसाइएका पिडालुका पातको पताका लगायतका परिकार बनाइन्छन् । तिनै परिकारले पुजा पनि गरिन्छ । अधिकांस महिलाहरु परम्पारगत रानाथारु पहिरनमा आउछन् । उनीहरु सामुहिक रुपमै नजिकको नदी नालामा पुर्जा सामाग्री विसर्जन गर्न जान्छन् । भीमदत्त नगरपालिकाको वडा नं. १४ र १६ मा ४१ परिवार रानाथारुको बसोबास छ । यहाँ पछिल्लो ६ वर्षदेखि नियमित रुपमा तीज मनाउने गरिएको छ । त्यसपघि भने विभिन्न कराणले तीज नियमित हुन सकेको थिएन । ‘पहाडी समुदायका महिलाहरु श्रीमानको दीर्घायुका लागि तीजको ब्रत बस्छन्, हामीहरु दाइ भाइको दीर्घायुका लागि ब्रत बस्छौं,’ बसन्तीले भनिन्, ‘त्यो तीज भन्दा एक महिना अघि नै हाम्रो तीज हुन्छ ।’ उनका अनुसार छोरी बहिनीहरु रोपाँई सकेर एक/डेढ महिनादेखि नै माइती घरमा आउछन् । रानाथारु समुदायको बसोबास पश्चिम नेपालको कैलाली र कञ्चनपुरमा मात्रै छ । रानाथारु समुदायको बाहुल्यता भएको क्षेत्रमा स्थानीय तहले तीजका लागि बुधबार सार्वजनिक बिदा पनि दिएका छन् । कञ्चनपुरमा लालझाडी गाउँपालिकामा रानाथारु समुदायको बाक्लो बसोबास छ । त्यसपछि जिल्लाका सबै क्षेत्रमा यो समुदायको बसोबा छ । कान्तिपुरबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय