उनले भने,‘आर्थिक वर्ष २०७२/०७३ मा एकै वर्ष ८ अर्ब ८९ करोड रुपैयाँ खुद नोक्शानीमा रहेको प्राधिकरणले त्यसपछिको तीन वर्षमा ती दिन फर्केर हेर्नुपरेको छैन । आर्थिक वर्ष २०७३/०७४ मा १ अर्ब ५० करोड रुपैयाँ खुद नाफा कमाउँदै प्राधिकरणले सुरु गरेको गौरवमय नाफाको इतिहास गत आर्थिक वर्षमा १३ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ । आठ वर्षअघि ३४ अर्ब ६१ करोड रुपैयाँ सञ्चित घाटामा रहेको प्राधिकरण अहिले ४६ अर्ब ४१ करोड रुपैयाँ सञ्चित नाफामा पुगेको छ । तर पछिल्लो समय धेरै ठाउँमा विद्युत प्राधिकरणको नाफा कागजी नाफा हो । विद्युत प्राधिकरणले नाफा देखाउनलाई डेडिकेटेड र ट्रंक लाइन विद्युत्को महशुलको विल गरेर नाफा देखायो भन्ने गरिएको छ । विद्युत प्राधिकरणले विगत ८ वर्षमा ३५ अर्बको सञ्चित घाटालाई माइनस वा पूर्ति गरेर ४७ अर्ब सञ्चित नाफामा पुर्याउँदा करिव ८२ अर्बको नाफा देखिएको छ । ८२ अर्बको नाफा त्यत्तिकै भएको छैन ।
त्यो नाफा डेडिकेटेड र ट्रंक लाइनको बिलले भएको होइन ।’ उनले तीन वर्षको अवधिमा प्राविधिक र गैरप्राविधिक विद्युत् चुहावट घटाउन, अधिकतम ग्राहकसम्म पहुँच बढाउन, वित्तीय खर्च घटाउन, राजश्व बढाउन, प्रशारण तथा वितरण लाइन र सबस्टेसन बिस्तार गर्न संस्थागत सुशासनमा सुधार गर्दै नाफा कमाउनमा प्राधिकरणलाई ठूलो सफलता हात परेको दाबी गरे । उनले तीन वर्षअघि विद्युतीकरणको अवस्था करिब ५८ प्रतिशत मात्रै रहेकोमा तीन वर्षको अवधिमा ९९ प्रतिशत पुगेको बताए । उनले अहिले ५९ लाख ३५ हजार ग्राहक पुगेको बताए । प्राधिकरणले विकट बस्तीहरुको पहिचान गरेर बाँकी विद्युतीकरणको कार्य अगाडि बढी सकेको उनले बताए । कार्यकारी निर्देशक घिसिङले अब देश छिट्टै पूर्णरुपमा विद्युतीकरण घोषणा गर्ने अवस्थामा पुगेको बताए । उनले विद्युतीकरणका लागि प्राधिकरणको आफ्नै स्रोतबाट ठूलो लगानी भएको भन्दै सुकुम्बासी बस्ती तथा चेपाङ, मुसहर लगायत विपन्न वर्गका घर परिवारहरुमा विद्युत् पुर्याउन निशुल्क मिटर समेत वितरण गरिएको बताए ।
