वीरेन्द्र भट्ट, धनगढीः सुदूरपश्चिममा हुने विभिन्न प्रकारका भ्रष्टाचारमध्ये सबैधन्दा बढी जनताको सेवा प्रवाहका क्रममा हुने घुस लेनदेन देखिएको छ। आम जनमानसमा एउटा प्रश्न छ, जनप्रतिनिधिहरु बढी घुस्याहा छन् कि सरकारी कर्मचारी? यो प्रश्नको तथ्यगत जवाफ जनप्रतिनिधिभन्दा बढी घुस्याहा कर्मचारीहरु नै छन्। त्यसमा पनि, खरिदारदेखि शाखा अधिकृतसम्मले बढी घुस खाने गरेको देखिएको छ। सुदूरपश्चिममा घुस्याहा कर्मचारीको बिगबिगी नै छ। सरकारी कार्यालयमा कार्यरत धेरैजसो कर्मचारी सेवाग्राहीसँग घुस खाएर मात्र काम गर्ने (घूस्याहा) को रुपमा कार्यरत छन्। २० हजारदेखि एक करोडसम्म घुस खाने कर्मचारी अख्तियारको फन्दामा पर्नुले पनि सुदूरपश्चिममा घूस्याहा कर्मचारीको बिगबिगी नै रहेको विषयलाई थप प्रमाणित गरिदिएको छ।
२ कृषि प्राविधि घुस रकमसहित समातिए
केहीदिन अघि मात्र दार्चुलाको शैल्यशिखर नगरपालिकाका कृषि प्राविधिक (अधिकृत) मोहनसिंह धामी र कृषि प्राविधिक अशोकसिंह धामीले कृषि समूहको बिल भुक्तानी गर्दा कमिशन वापत सेवाग्राहीसँग घुस/रिसवत माग गरेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, कञ्चनपुरबाट खटिएको टोलीले मोहन र अशोकसिंह धामीलाई नियन्त्रणमा लिएको थियो। सेवाग्राहीबाट नगद चार लाख १२ हजार रुपैयाँ नगद घुस लिइसकेको अवस्थामा उक्त रकम र दुबै जनाको साथबाट ४५ लाख ६० हजारको पाँच थान चेक र अशोकसिंह धामीको नाममा काटिएको दुई लाख ५० हजारको २ वटा गरी पाँच लाखको चेकसहित धनगढी उपमहानगरपालिका–४ बोराडाडीबाट २०८१ असार ३१ गते अख्तियारले नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ।
सहजीकरणको नाममा घुस रकम माग
सरकारी कर्मचारीबाट स–सानो काम गराउन पनि सेवाग्राहीले घुस खुवाउनुपर्ने अवस्था सुदूरपश्चिममा बढ्दै गएको छ। घुस नदिइ कामै नहुने परिस्थितीको विकास कर्मचारीबाटै भएको सेवाग्राहीको गुनासो छ। सेवाग्राहीसँग पहिले घुस मागेर अनि मात्र योजना तथा कार्यक्रम दिने गरेको समेत पाइएको छ। राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाई लम्की कैलालीका जलाधार व्यवस्थापन अधिकृत प्रभात पालले तटबन्ध निर्माण कार्यको पहिलो रनिङ्ग बिल भुक्तानीमा सहजीकरण गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुस माग गरिरहेको उजुरी नै परेको थियो। त्यसपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवल, सम्पर्क कार्यालय, नेपालञ्जबाट खटिएको टोलीले जलाधार व्यवस्थापन अधिकृत प्रभात पाललाई सेवाग्राहीबाट एक लाख २० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा उक्त रकम र श्रोत नखुलेको एक हजार पाँच रुपैयाँ समेत गरेर एक लाख २१ हजार पाँच रुपैयाँसहित जिल्ला बाँके, नेपालगञ्ज उपमहानगरपालिका–२ बाट २०८१ बैशाख ५ गते अख्तियारको टोलीले नियन्त्रणमा लिएको थियो।
सेवाग्राहीसँग सिधै घुस
त्यस्तै मोहन्याल गाउँपालिका कैलालीका (छैठौ तह) अधिकृत दिपेन्द्र बुढा क्षेत्रीले रकम भुक्तानी दिने क्रममा सेवाग्राहीसँग ३० हजार घुस मागको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, कञ्चनपुरमा परेको थियो। त्यसपछि सो कार्यालयबाट खटिएको टोलीले दिपेन्द्र बुढा क्षेत्रीलाई सेवाग्राहीबाट ३० हजार रुपैयाँ घुस वाफतको रकम लिइसकेको अवस्थामा घोडाघोडी नगरपालिका–१ मा रहेको नवरत्न होटलबाट २०७९ साउन १ गते नियन्त्रणमा लिएको थियो। यसअघि भूमिसुधार तथा मालपोत कार्यालय कञ्चनपुरका मालपोत अधिकृत लोकराज जोशीले जग्गा नामसारी तथा अंशबण्डा गरिदिएवापत सेवाग्राहीसँग अतिरिक्त रकम माग गरेको उजुरी नै परेको थियो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरबाट खटिएको टोलीले घुस माग्ने लोकराज जोशीलाई सेवाग्राहीबाट लिएको २४ हजार रुपैयाँ र स्रोत नखुलेको ५५ हजार रुपैयाँ गरी ७९ हजार रकमसहित मालपोत कार्यालय कञ्चनपुर नजिकै रहेको सिटी क्याफे पछाडिबाट पक्राउ परेका थिए। यसअघि चुरे गाउँपालिका घरखेडामा कार्यरत सव–इन्जिनियर चन्द्रदेव भट्टले सायल कृषि सडक निर्माण गरी भुक्तानी लिइसकेपछि पनि उक्त सडकको इस्टिमेट नापजाँच तथा मुल्याङ्कन गरिदिएबापत सेवाग्राहीसँग घुस मागेको उजुरी परेको थियो। त्यसपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरबाट खटिएको टोलीले चन्द्रदेव भट्टलाई सेवाग्राहीबाट २० हजार घुस बापतको रकम लिइसकेको अवस्थामा धनगढी उपमहानगरपालिका–१ शान्तिवाटीका पार्क चोकबाट अख्तियारीले नियन्त्रणमा लिएको थियो। यी त केबल प्रतिनिधि उदाहरण मात्र हुन्। वर्षौसम्म घुस खादै आएका तर अख्तियारलगात निकायबाट बच्दै आएका कर्मचारीको संख्या ठूलो रहेको सेवाग्राहीको गुनासो छ। सरकारी कार्यालयमा कार्यरत केही कर्मचारीले पदको दुरुपयोग गर्दै घुस खान नछोडेको गुनासो दैनिक रुपमा बढ्दो छ। दिनेश खबरबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय