दार्चुला–भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगंगा जलविद्युत परियोजनाको बाँध भदौ १ गते विहान खोलिने भएको छ । एनएचपीसी लिमिटेड, धौलीगंगा पावरस्टेसन, धारचुला पिथौरागढ भारतले जिल्ला प्रशासन कार्यालयलाई आज पठाएको पत्र अनुसार मिति २०८१ भदौ १ गते विहान ८ बजेदेखि भदौ २ गतेसम्म बाँध खोलिने जनाएको हाे । बाँध खोलेपश्चात् महाकाली नदीमा जलस्तर बढ्ने सम्भावना भएकाले नदी तटीय क्षेत्रमा जोखिम हुने भन्दै सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय दार्चुलाले एक सार्वजनिक सूचना जारी गरेको छ । परियोजनाले बाँधको सिल्ट सफाईको काम गर्न बाँध खोल्ने जानकारी पठाएको छ । परियोजनाले बेलाबेलामा नियमित सरसफाइ गर्नुपर्ने भन्दै बाँध खुला गर्दै आइरहेको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाले एनएचपीसी लिमिटेड, धौलीगंगा पावरस्टेसन, धारचुला पिथौरागढ भारतको पत्र अनुसार जानकारी र पूर्व सतर्कता अपनाउन दार्चुलाको महाकाली नगरपालिका, मालिकार्जुन गाउँपालिका, ब्याँस गाउँपालिका, दुहुँ गाउँपालिका, लेकम गाउँपालिका, जिल्ला प्रशासन कार्यालय कञ्चपुर, जिल्ला प्रशासन कार्यालय बैतडी, जिल्ला प्रहरी कार्यालय दार्चुला, सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुला र जिल्ला आपतकालिन कार्य संचालन केन्द्र दार्चुलालाई जानकारी पठाएको छ ।

   महाकाली नदीको तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरुलाई पूर्व सर्तकता अपनाउन सूचना सम्प्रेषण गर्न पत्राचार गरिएको प्रशासनले जनाएको छ । दार्चुलामा ब्याँस गाउँपालिका–५ धौलाकोट देखि लेकम गाउँपालिकाको लालीसम्म तटीय क्षेत्रमा खतरा हुने भएकाले सो क्षेत्रका नागरिकलाई सतर्क भएर रहन प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले आग्रह गर्नु भएको छ । धौलीगंगाको बाँध खोलेपछि दार्चुला, बैतडी, डडेल्धुरा, कञ्चनपुर भएर भारततिर बग्ने महाकालीमा पानीको बहाव र सतह बढ्ने भएकाले सो क्षेत्रका नागरिकलाई नदी छेउछाउमा नजान र सतर्कता अपनाई राख्न समेत नेपाल र भारतका स्थानीय प्रशासनले अनुरोध गरेका छन् । विसं २०७० सालमा धौलीगंगाकै बाँधका कारण दार्चुला सरमुकाम खलंगामा बाढी पसेर अर्बौको क्षति भएको थियो । २ सय ८० मेगावाट विद्युत् क्षमताको धौलीगंगाको परियोजनाको बाँध खोलिनेबारे पछिल्लो समय भारतीय प्रशासनले पूर्वसूचना गराउन थालेपछि पूर्वसतर्कता अपनाउन सजिलो भएको छ । दार्चुला एफएमबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय