दार्चुला-अपिहिमाल गाउँपालिकाकोे आर्थिक वर्ष २०८०÷०८१ को तेस्रो र चौथो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । आइतवार पालिकाको सार्वजनिक सुनुवाई गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईन्द्र बहादुर रावलले जानकारी दिए । अपिहिमाल गाउँपालिकाको आयोजना तथा रेडियो कालापानी एफएमको सहजीकरणमा सार्वजनिक सुनुवाई गरिएको हो । अपिहिमाल गाउँपालिकाका उपाध्यक्ष देवकी बोहराको अध्यक्षतामा एक औपचारिक कार्यक्रम मार्फत गाउँपालिकाको सार्वजनिक सुनुवाई गरिएको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईन्द्र बहादुर रावलका अनुसार गत आर्थिक वर्षको तेस्रो र चौथो चौमासिकमा ३ सय ८५ गैरदलित जेष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता पाएका छन् । यस्तै दलित १० जना, पूर्ण अपांग ९ जना, आशिंक अपांग ५३ जना, एकल महिला ३५ जना, विधुवा महिला १ सय १ जना, बाल संरक्षण अनुदान ३६ जना गरी जम्मा ६ सय २९ जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । पन्जिकरण सेवातर्फ ८२ जनाको जन्मदर्ता, १६ जनाको मृत्यु दर्ता, ३८ जोडीको विवाह दर्ता गरिएको छ भने १५ जनाले बसाईसराई गरेका छन् । यस्तै एक जनाले सम्बन्ध विच्छेद गरेका छन् । गाउँपालिकाका २८६ योजनाका लागि ३२ करोड १८ लाख ६६ हजार ९ सय ९१ रुपैयाँ ६७ पैसा खर्च भएको जनाइएको छ । यस्तै गाउँपालिकाले २४ लाख ७५ हजार ५ सय ७६ रुपैयाँ ६० पैसा राजश्व संकलन गरेको छ । कार्यक्रममा ५२ जना सहभागी रहेकोमा ५ जना सहभागीले सल्लाह, सुझाव एवं जिज्ञासा राखेका थिए । सार्वजनिक सुनुवाइ कार्यक्रमको सहजीकरण कालापानी एफएमका ईन्द्र साउँद र केशव दत्त भट्टले गर्नुभएको थियो । कार्यक्रममा ६ वटै वडाका वडा अध्यक्ष, स्थानीय राजनीतिक दल, कार्यपालिका सदस्य, गाउँपालिकाका कर्मचारी लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो ।
