काठमाडौँ — सभामुख देवराज घिमिरेले माओवादी हिंसा भन्ने शब्द असंसदीय नभएको भन्दै संसदको रेकर्डबाट हटाउन नपर्ने जानकारी गराएका छन् । त्यसपछि माओवादी सांसदले उठेर सभामुखको उक्त निर्णयप्रति आपत्ति जनाए । बैठकमा एमाले र माओवादी सांसदबीच चर्काचर्की भएपछि भदौ ३० गतेसम्म संसद स्थगित गरिएको छ । बुधबार प्रतिनिधिसभा बैठकमा सभामुख घिमिरेले संसदको नियमाली, कार्यव्यवस्था परामर्श समितिको बैठक र संसद सचिवालयको सुझावका आधारमा उक्त शब्द असंसदीय नभएको जानकारी गराएका हुन् । एमाले सांसद योगेश भट्टराईले भदौ १२ मा माओवादी हिंसा भन्दे शब्द प्रयोग गरेपछि विवादमा परेको भन्दै माओवादी प्रमुख सेचतक हितराज पाण्डेले संसदको रेकर्डबाट हटाउन माग गरेका थिए । ‘२०८१ भदौ १२ गते माननीय योगेश कुमार भट्टराईले प्रयोग गरेको हिसा भन्ने शब्दअसंसदीय रहेकाले संसदको अभिलेखबाट हटाउन माओवादी प्रमुख सचेतक हितराज पाण्डेले माग गर्नु भएको थियो,’ उनले भने, ‘प्रतिनिधिसभा नियमावली २०७९ नियम २१ मा भएको व्यवस्था र भाद्र १८ को कार्यव्यवस्था परामर्श समितिको बैठकका साथै सचिवालयको रायका अनुसार हिंसा भन्ने शब्द असंसदीय नदेखिएको हुँदा उक्त शब्द रेकर्डबाट हटाउन नपर्ने व्यहोरा जानकारी गराउँछ ।’
उनले संसदमा बोल्दा सांसदहरुले प्रयोग गर्ने शब्द सचेततापूर्वक अपनाउन आग्रह गरे । ‘माननीयले बोल्दा प्रतिकात्मक शब्द प्रयोग गर्दा बहस हुने गरेको छ । अबदेखि शब्द चयनमा सतेतता अपनाउन आग्रह गर्दछु,’ सभामुखले आग्रह गरे । त्यसपछि माओवादी प्रमुख सचेतक पाण्डेले संसदमा प्रयोग हुने शब्द संविधानभन्दा फरक हुनुपर्ने भनी पश्न गरेका थिए । ‘मूल कानुन संविधान हो । संविधानमा जनयुद्ध र जनआन्दोनको व्याख्या गरिएको छ । हिंसा संविधान, कानुन विपरीत छ कानुन विपरीत । के संविधानभन्दा यहाँ प्रयोग हुने शब्द फक हुनुपर्ने हो ?’ उनको प्रश्न थियो । केहीसमय पछि माओवादी सांसद देवेन्द्र पौडेलले संसदमा हिंसा भन्ने शब्द प्रयोग गर्दा संविधान, कानुन विपरीत हुने भन्दै संविधान प्रतिकुल हुने शब्द प्रयोग भएको भन्दै आपत्ति जनाए । त्यसपछि माओवादी सांसदहरुले केही समय उभिएर संसदको बैठक अवरुद्ध गरे । ‘सभामुखले प्रयोग गरेको शब्द गम्भीर आपत्ति छ,’ उनले भने, ‘शान्ति प्रक्रिया भाँड्ने शब्द प्रयोग नगर्न म आग्रह गर्न चाहन्छु ।’ एमाले मुख्य सचेतक महेश बर्तौला र सांसद रघुजी पन्तले हिंसा भन्ने शब्द असंसदीय नभएको भन्दै सभामुखको प्रतिरक्षा गरेका थिए । संसद्मा एमाले र माओवादी सांसदबीच चर्काचर्की भएको थियो । कान्तिपुरबाट
