दार्चुला–जिल्ला सदरमुकाम खलंगामा रहेको निजामती कर्मचारी आवास भवनलाई कर्मचारीहरु आफैले प्रयोगमा ल्याउने निर्णय गरेका छन् । विगत ६ वर्ष देखी महाकाली नगरपालिकाले प्रयोग गर्दै आइरहेको कर्मचारी आवासको ब्लक (ए) भवनलाई अब उप्रान्त निजामती कर्मचारीहरुलाई नै प्रयोग गर्न दिने र महाकाली नगरपालिकालाई नदिने कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन दार्चुलाले आज निर्णय गरी प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीलाई निर्णयकाे कपि बुझाएका छन् । आधिकारिक ट्रेड युनियन दार्चुलाका जिल्ला अध्यक्ष रघुबिर सिंह ठगुन्नाको संयोजकत्वमा विभिन्न अन्य कर्मचारी संगठनका अध्यक्ष तथा प्रतिनिधिहरुको बैठक बसी उक्त निर्णय गरिएको बताइएको छ । पहिलो पटक उक्त आवास भवन महाकाली नगरपालिकालाई ५ वर्षका लागि प्रयोग गर्न दिने बारे २०७५ साल भदौ २४ गते नेपाल सरकारका तर्फबाट दार्चुलाका तत्कालिन प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्य र महाकाली नगरपालिकाका तर्फबाट तत्कालिन नगर प्रमुख हंसराज भट्टले सम्झौतामा हस्ताक्षर गरेका थिए ।
उक्त सम्झौताको म्याद २०८० भदौ २४ गते सकिएपछि नगरपालिकाले २०८० भदौ २३ गते थप दुई वर्षका लागि सम्झौताको म्याद थप गर्नका लागि प्रमुख जिल्ला अधिकारीलाई निवेदन दिएको थियो । उक्त निवेदन उपर छलफल गरी निर्णय गर्न दार्चुलाका तत्कालिन प्रमुख जिल्ला अधिकारी किरण जोशीको अध्यक्षतामा २०८० माघ १९ गते बसेको बैठकले १ वर्षका लागि मात्रै म्याद थप्न सकिने निष्कर्श निकालेर म्याद थप गरिएकाे थियो । थप एक वर्षका लागि थप गरिएकाे म्याद समेत २०८१ भदौ २३ गते सकिएपछि कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनले अब महाकाली नगरपालिकालाई प्रयोग गर्न दिन नसकिने निर्णय गरेको हाे । साथै बैठकले कर्मचारी आवासको ब्लक (बि) आवास भवन निर्देशिका अनुसार प्रयोगमा ल्याइने पनि निर्णय गरेको छ । केहि वर्ष देखि जिल्ला प्रशासन कार्यालयले प्रयोग गरिरहेको उक्त भवनलाई समेत निर्देशिका बमोजिम संचालन गर्ने निर्णय गरिएको आधिकारीक ट्रेड युनियनका जिल्ला अध्यक्ष रघुबिर सिंह ठगुन्नाले जानकारी दिनुभयो । यता प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीका अनुसार उक्त निर्णयलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पठाइएको छ । बाँकी निर्णय मन्त्रालय आफैले गर्ने बताइएको छ ।
