दार्चुला-महाकाली नगरपालिका–३ मा रहेको हुस्कर माध्यमिक विद्यालय काँटैमा विद्यार्थीहरुले तालाबन्दी गरेका छन् । शुक्रबार शिक्षक सरुवाको विराेध गर्दै विद्यार्थीहरुले तालाबन्दी गरेकाे बताईएकाे छ । विद्यालयमा विज्ञान विषय अध्यापन गराउने शिक्षक धन सिंह महरालाई महाकाली नगरपलिकाले सरुवा गर्न लागेको भन्दै विद्यार्थीहरुले नाराबाजी गर्दै विद्यालयमा तालाबन्दी गरेको विद्यालका प्रधानाध्यापक महेश भट्टले जानकारी दिनुभयाे । कक्षा १० सम्म अध्यापन गराउने विज्ञान विषयमा शिक्षक महराको सोही नगरपालिका–२ मा रहेको दुर्गा लटिनाथ माध्यमिक विद्यालय मैखोलीमा सरुवा गर्न लागिएको भन्दै विद्यार्थीहरुले सरुवा रोक्काकाे माग गर्दै विद्यालयमा तालाबन्दी गरेको बताइएको छ । ‘एक जना विज्ञान पढाउने शिक्षकको सरुवाको तयारी भइरहेको चर्चा छ, अहिलेसम्म विद्यालयलाई कुनै औपचारिक पत्र भने आएको छैन,’ प्रधानाध्यापक भट्टले भन्नुभयाे । राजनीतिक चलखेलका कारण शिक्षकको सरुवा हुन लागेको आरोप विद्यार्थीहरुको छ । बिहिबार मात्रै नगरपालिकाकाे वडा नम्बर ७ धापमा रहेको मालिकार्जुन नमुना माध्यमिक विद्यालयमा पनि विद्यार्थीहरुले अंग्रेजी अध्यापन गराउने शिक्षक चाहिएको भन्दै विद्यालयमा तालाबन्दी गरेका थिए । उक्त विद्यालयमा पनि राजनीतिक स्वार्थ पूरा नहुँदा पाँच महिनासम्म अंग्रेजी शिक्षकलाई भर्ना नगरेकाे स्थानीयहरुले आराेप लगाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय