बैतडी-तीन दिनसम्म परेको वर्षापछि खसेको पहिरोले बैतडीमा ९ परिवार विस्थापित भएका छन् । बैतडी जिल्लाको सूर्नया गाउँपालिका–८ ढोलेका ९ परिवार विस्थापित भएको वडा कार्यालयले जनाएको छ । ८ नम्बर वडाका वडाध्यक्ष भानबहादुर बोहराका अनुसार पहिरोले ढोलेको रातापानी टोलका ५ परिवार, मल्लो ढोलेका ३ परिवार र तल्लो ढोलेका एक परिवार गरेर ९ परिवार विस्थापित भएका हुन् । घर नै बगाउने जोखिम बढेपछि ९ परिवारलाई सुरक्षित स्थानमा सारिएकाे पालिकाले जनाएको छ । विस्थापित परिवार अहिले आफन्तको घरमा बसिरहेको वडाध्यक्ष बोहराले जनाए । वडाध्यक्षका अनुसार रातापानी टोलका उद्धव बोहरा, धनुवा बोहरा, रामसिंह बोहरा, गम्भीरसिंह बोहरा र कृष्ण बोहराको परिवार विस्थापित भएको छ ।

   मल्लो ढोलेका लाल लुहार, परमल लुहार र जहरे बोहराको परिवारका साथसाथै तल्लो ढोलेका माने लुहारको परिवार पनि पहिरोले विस्थापित भएका छन् । आइतबार वर्षा रोकिए पनि पहिरो खस्ने क्रम नरोकिएको वडाध्यक्ष बोहराले बताए । तत्काल विस्थापित परिवारको गाँसबासको व्यवस्था गर्नुपर्ने देखिएको वडाध्यक्ष बोहराको भनाइ छ । यसका लागि गाउँपालिकालाई अनुरोध गरिएको छ । पालिकाबाट तत्काल त्रिपाल र खानेपानीको पाइप मगाएको बताए । खाने कुराको पनि व्यवस्थापन भइरहेको उनको भनाइ छ ।वडा कार्यालयका अनुसार कठमडाका इन्द्र साउद र तल्लो ढोलेका हरिबहादुर बोहराको घर पहिरोको जोखिममा परेको छ । पहिरोले ढोले बस्तीका स्थानीयको खेतबारी पनि बगाएको छ । मल्लो ढोलेमा सडक भासिएको र रातापानी टोलमा खेतबारी नै पहिरोले लगेको वडाध्यक्ष बोहराले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय