दार्चुला-जिल्लामा नेपाल टेलिकमको इन्टरनेट र फाेन सेवा अवरुद्ध भएको छ । बैतडीकाे पाटन नगरपालिकामा पर्ने खाेड्पे र पालेथरकाे बिच भागमा जडान गरिएकाे अप्टिकल फाइबरमा समस्या आएपछि २४ घण्टादेखि इन्टरनेट र फाेन सेवा अवरुद्ध हुन पुगेको नेपाल टेलिकम दार्चुलाले जनाएको छ । शनिबार दिउँसो अढाई बजेबाट इन्टरनेट र फाेन सेवा अवरुद्ध भएको हो । दिउँसोदेखि इन्टरनेट र फोन सेवा अवरुद्ध भएकाेमा शनिबार साँझबाट फोन सेवा सुचारु भएको थियो । तर उक्त् फाेन सेवाले खासै काम भने नगरेकाे माेबाइल प्रयाेगकर्ताहरुले बताएका छन् । ब्रेक भएकाे अप्टिकल फाइबर मर्मतको काम चलिरहेकाले फोन सेवा पनि आउने जाने भइरहेको नेपाल टेलिकम दार्चुलाका प्राविधिकहरु बताउँछन् । फोनमा नेटवर्क देखाइरहे पनि राम्रोसित कुराकानी हुन नसकेको दार्चुलाका स्थानीय नरसिंह धामीले बताए । इन्टरनेट सेवा पूर्ण रुपमा बन्द हुँदा यहाँ सरकारी तथा व्यक्तिगत काम प्रभावित भइरहेका छन् ।
