धनगढी — दुई महिनाभन्दा बढी समयको बजेट शून्यतापछि सुदूरपश्चिम प्रदेश सरकारको बजेट आइतबार प्रदेशसभाबाट बहुमतले पारित भएको छ । सभामुख भीमबहादुर भण्डारीले निर्णयार्थ पेस गर्नुअघि भएको छलफलका क्रममा सत्तारूढ दलकै सांसदले बाध्यताले मात्र बजेट पारित गर्ने प्रक्रियालाई समर्थन गर्नुपरेको आशयलाई प्रतीकात्मक ढंगले व्यक्त गरेका थिए । ‘बजेट देख्यौं विचित्रको, रातो किताबभित्र, कति पीडा पोखौं हजुर पीडा छन् मनभित्र,’ सत्तारूढ दल एमाले संसदीय दलकी उपनेता सन्तोषकुमारी शर्मा थापाले बजेटप्रति व्यक्त गरेको टिप्पणी हो यो ।
यस्तै एमालेकै बझाङका सांसद दमन भण्डारीले पनि बजेटप्रतिको असन्तुष्टि जनाउँदै थपे, ‘मुटुमाथि ढुंगा राखि हाँस्नुपर्या छ ।’ एमालेकै अर्का सांसद धर्मराज पाठकले पनि बजेटप्रति टिप्पणी गरे । ‘मझधार मे जब नैया डोले तो माझी पार लगावे, माझै जब नाव डुबे तो कौन बचाए,’ उनले भने । बजेटकै कारण आफ्नो पार्टीले जिल्ला प्रवेशमा निषेध गर्ने निर्णय गरेको सरकारको नेतृत्वकर्ता दल कांग्रेस प्रमुख सचेत विक्रमसिंह धामीले गुनासो गरे । शनिबारको बैठकमा धारणा व्यक्त गर्ने सांसदमध्ये प्रतिपक्षीभन्दा पनि सत्तारूढ कांग्रेस र एमालेका सांसदकै गुनासो बढी सुनियो । कविताबाट आफ्नो टिप्पणी सुरु गर्दै एमाले उपनेता सन्तोषकुमारी शर्मा थापाले बजेटमाथिको छलफल बेअर्थको त होइन, अर्थबिनाको छलफलले के परिणाम दिन्छ भन्ने प्रश्न गरिन् ।
‘जनताको स्रोतसाधन जनतालाई समर्पित गर्दा दृष्टिभ्रम हुन गयो ? बजेट कसैको निजी सम्पत्ति पनि होइन,’ उनले भनिन्, ‘बजेट न्यायोजित वितरण हुनुपर्थ्यो, हुन सकेन । यो दुःखद कुरो हो ।’ यस्तो बजेट विनियोजनको विरोध गर्नु रहर नभई बाध्यता भएको उनको भनाइ छ । बजेटबारे एमाले र कांग्रेसले दुई–दुई जना सांसदलाई मात्र बोल्न दिने निर्णय गरेपछि केही कांग्रेस सांसद बोल्नसमेत नदिइएको भन्दै थप आक्रोशित बनेका थिए । ‘मन आक्रान्त छ, पीडा र रोदन छ । एकान्तमा भक्कानिनु परिरहेको छ,’ कांग्रेसकै एक सांसदले भने, ‘बैठकमा बोल्न पाएको भए पनि कम्तीमा मन त हलुको हुने थियो ।’
अर्को सत्तारूढ दल नागरिक उन्मुक्ति पार्टीका सांसद खुसीराम डगौरा थारूले प्रदेशसभा बैठकमा जनताको पक्षमा संघर्ष गर्दा हारको पीडा धेरै हुने बताए । ‘मनमा पीडा हुँदा छ । धेरै लडिरहेको छु, तर हारिरहेको छु,’ उनले भने । कर्मचारीले नेताको भरोसाबिना एक अक्षर पनि बदल्ने हिम्मत नगर्ने र कर्मचारीलाई दोष थुपार्ने काम नगर्न उनको आग्रह छ । ‘हामी उपेक्षित भयौं, यो गीता र कुरान होइन, त्यसैले बजेट संशोधन गरौं,’ उनले भने ।
कांग्रेस सांसदले आफ्नो सिफारिसका योजना काटिएको भन्दै रुष्ट भएपछि शुक्रबार प्रदेशसभाको बैठक नै स्थगित भएको थियो । सांसदले रुष्ट भएर बजेट पारित नगर्ने अडान लिएपछि मुख्यमन्त्रीसमेत रहेका संसदीय दलका नेता कमलबहादुर शाहले संसदीय दलको बैठक बोलाएका थिए । असन्तुष्ट सांसदलाई मुख्यमन्त्रीले थामथुम पारेपछि बजेटमाथिको छलफल सुरु भएको थियो । छलफलकै क्रममा प्रमुख प्रतिपक्षी माओवादी केन्द्रका सांसद शिवसिंह ओलीले बजेट कुन प्रक्रियाबाट बनेको छ भन्ने मूल प्रश्न रहेको बताए । ‘कुन योजना कसरी परे भन्ने छानबिन गर्न संसदीय समिति बनाउनुपर्छ । हामी प्रमाणित गरिदिन्छौं,’ उनले भने ।
बजेट पुनरावलोकन गर्नुपर्ने एमालेकै सांसद दमन भण्डारीले जनाए । ‘बजेट पुनरावलोकन गर्न नसक्ने भन्ने हुँदैन,’ उनले भने, ‘सबैतिरबाट यस्तै आवाज आइरहेको छ ।’ कांग्रेस नेतृत्वको सरकारले चालु आर्थिक वर्ष ०८१/८२ का लागि दुई महिना ढिलो गरी भदौ ३१ मा प्रदेशसभामा ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजारको बजेट ल्याएको थियो । दुई महिनादेखि बजेट शून्यता भएकाले सुदूरपश्चि प्रदेश सरकार अन्तर्गत कार्यरत कर्मचारीले तलब पाएका छैनन् । प्रदेश सरकारको प्रशासनिक कार्य पनि उधारोमा चलिरहेको छ ।कान्तिपुरबाट
