दार्चुला-महाकाली नगरपालिकाको ‘बेसहारा आमाबुवाको सहारा नगरप्रमुख कार्यक्रम’ मार्फत उपलब्ध हुँदै आएको खाद्यान्नको सट्टा अब नगद उपलब्ध गराइने भएको छ । नगरपालिकाले चालू आर्थिक वर्षदेखि खाद्यान्नको सट्टा नगद उपलब्ध गराउँने तयारी गरेको हो ।

   कार्यविधि संशोधन गरेर लाभान्वित आमाबुवाहरुलाई नगद उपलब्ध गराउने तयारीमा रहेको महाकाली नगरपालिकाका प्रमुख नर सिंह चैसिरले जानकारी दिए । खाद्यान्नमा गुणस्तर, ढुवानी खर्चसहितलाई हेरेर नगद उपलब्ध गराउने कार्यविधि तयार पारिएको उनले बताए ।

   परिवारजनमा छोराछोरी गुमाएका वा नभएका ६० वर्षमाथिका आमाबुवालाई खाद्यान्नमा पर्ने करिब १ हजार ८ सय रुपैयाँ र समान ढुवानी खर्च मिलाएर २ हजार मासिक रुपमा उपलब्ध गराइने उनले बताए । यसमा कसै कसैले खाद्यान्न नै माग गरिरहेको पनि नगर प्रमुख चैसिरको भनाई छ ।

   आर्थिक वर्ष २०७८/०७९ मा महाकाली नगरपालिकाका तत्कालिन नगर प्रमुख हंसराज भट्टले नगरपालिकाका ९ वटै वडामा सुपथ मूल्य पसलबाटै सेवा पाउने गरेर ‘बेसहारा आमाबुवाको सहारा नगरप्रमुख कार्यक्रम’ सञ्चालनमा ल्याएका थिए ।

   अहिले वडामा संचालित सुपथ मूल्य पसल हटाइएका छन् । कार्यविधि अनुसार ६० वर्षमाथिका बेसहारा आमाबुवालाई मासिक रुपमा १५ किलोग्राम चामल, २ किलोग्राम नून, २ किलोग्राम दाल, २ लिटर तेल तथा ४/४ गोटा नुहाउने र लुगा धुने साबुन उपलब्ध हुँदै आएको थियो ।

 

तस्वीर : ‘बेसहारा आमाबुवाको सहारा नगरप्रमुख कार्यक्रम’ उदघाट्न समयको ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय