दार्चुला-दार्चुलामा स्याउ/ओखर तथा सुन्तला जातका फलफूल जोनको सञ्चालन समन्वय समिति पुनर्गठन गरिएको छ ।

जिल्लामा सुचिकृत कृषि फर्म चलाइरहेका कृषकहरुलाई समेटेर जोन संचालन समन्वय समिति पुनर्गठन गरिएको हो । शनिवार प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाई दार्चुलाले एक कार्यक्रमको आयोजना गर्दै नयाँ समिति गठन गरेको कार्यालय प्रमुख कमल तामाङले जानकारी दिए ।

 

स्याउ/ओखर जोन सञ्चालन समन्वय समितिको संयोजकमा देवेन्द्र सिंह रोकाया चयन भएका छन् । यस्तै टेकेन्द्र बहादुर बमको संयोजकत्वमा सुन्तला जातका फलफूल जोनको सञ्चालन समन्वय समिति गठन गरिएको छ ।

दुबै जोन सञ्चालक समन्वय समिति ९/९ सदस्यीय गठन गरिएको हो ।

यी समितिले परियोजनाका सरोकारवालाहरुसँग समन्वय र सहकार्य गरी विद्यमान प्रविधि र पूर्वाधारहरुको अभिलेख तयार पार्ने र जोन सञ्चालन अवधिको कार्ययोजना तयार गर्न परियोजना कार्यान्वयन एकाईलाई सहजीकरण गर्ने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना एकाई कार्यालय दार्चुलाका प्रमुख तामाङले बताए ।

 

जोन सञ्चालन समन्वय समितिको कार्यकाल २ वर्षको हुनेछ । यसअघि जोन सञ्चालन समन्वय समिति गठन २०७८ कात्तिकमा भएको थियो ।

 

दार्चुलामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाईले आर्थिक वर्ष २०७५/७६ देखि स्याउ/ओखर र आर्थिक वर्ष २०७८/०७९ देखि सुन्तला जातका फलफूल व्यवसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र (जोन) कार्यक्रम सञ्चालन गरी कार्यान्वयन गरिरहेको छ ।

जिल्लामा अहिले स्याउ÷ओखर ६ सय २ हेक्टर र सुन्तला जातका फलफूल १ सय ९४ दशमलव ९२ हेक्टर क्षेत्रफलमा विस्तार भएको परियोजना कार्यान्वयन एकाईले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय