दार्चुला–नेपाली कांग्रेस सुदूरपश्चिमले ३२ प्रदेशसभा क्षेत्रमा ४३ जना प्रतिनिधि खटाएको छ । पार्टीको सय दिने विशेष अभियान सफल बनाउनका लागि नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश पदाधिकारीको बैठकले ४३ प्रतिनिधि खटाउने निर्णय गरेको हो ।
प्रदेश समितिका प्रवक्ता सुरतबहादुर रावतका अनुसार नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले पार्टीको सबै तहका सांगठनिक गतिविधिलाई प्रभावकारी बनाउन, सदस्यता वितरण र नवीकरण कार्यलाई तिव्रता दिन, विधान बमोजिम मातहतका कार्यसमितिले नियमित गर्नुपर्ने बैठक, सम्मेलन, अभिमुखीकरण, कार्यतालिका निर्माण लगायतका कार्य समयमै गर्न गराउन, अभिलेखिकरण र अभियानलाई चुस्त र प्रभावकारी बनाउन सो अभियान थालेको हो ।
नेपाली कांग्रेस प्रदेश कार्यसमितिको कार्यालय धनगढीले दार्चुलाका लागि तीन जना नेतालाई जिम्मेवारी दिएर खटाएको छ । दार्चुला प्रदेशसभा क्षेत्र १ का लागि नेता मदन गिरी र कमला धामी सामन्तलाई खटाएको छ, भने प्रदेशसभा क्षेत्र २ का लागि नेता करविर बहादुर कार्कीलाई खटाएको छ ।
पौष १६ गतेभित्र तोकिएका कार्यहरु सम्पादन गर्ने गरी नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशले सो अभियान सुरु गरेको हो । सय दिने विशेष अभियान सफलतापूर्वक सम्पन्न गरिसकेपछि खटिएका प्रतिनिधिहरुले लिखित प्रतिवेदन नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश पार्टी कार्यालयमा अनिवार्य बुझाउन समेत निर्देशन दिइएको छ ।
