नरेश प्रशाद जोशी डडेल्धुरा : दसैँको अवधिमा सुदूरपश्चिम प्रदेशभरि भएका सवारी दुर्घटनामा १३ जनाको मृत्यु भएको छ भने ४६ जना घाइते भएका छन्। प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाको तथ्यांकअनुसार असोज १५ देखि ३० सम्म २१ वटा दुर्घटना भएका छन्, जसमा सबैभन्दा बढी मोटरसाइकल दुर्घटना देखिएका छन्।

कैलालीमा १६ वटा दुर्घटनामा ६ जनाको मृत्यु हुनुका साथै २६ जना घाइते भएका छन्। त्यस्तै, कञ्चनपुर र बझाङमा एक–एक जनाको मृत्यु भएको र कञ्चनपुरमा ६ जना घाइते भएको प्रहरी तथ्यांकले देखाएको छ।

डडेल्धुरामा दुईवटा दुर्घटनामा पाँच जनाले ज्यान गुमाएका छन् भने १४ जना घाइते भएका छन्। मंगलबार राति डडेल्धुरामा रात्रिबस दुर्घटनामा एकै घरका तीनजनासहित पाँचजनाको मृत्यु भएको थियो भने १२ जना घाइते भएका छन्।

प्रहरी निरीक्षक सुरजबहादुर खड्काका अनुसार मोटरसाइकल दुर्घटनामा वृद्धि हुनुमा तीव्र गति, मादक पदार्थ सेवन गरी सवारी चलाउनु, र बाटो काट्दा यात्रुहरूले ध्यान नदिनुजस्ता कारण मुख्य जिम्मेवार देखिएका छन्।

चाडपर्वको समयमा सवारी साधनमा क्षमताभन्दा बढी यात्रु र सामान राख्ने, यात्रु तान्ने प्रतिस्पर्धाले गर्दा तीव्र गतिमा सवारी चलाउनाले ठूला दुर्घटना हुने गरेको प्रहरीको भनाइ छ। यसपटक ट्राफिक नियमको पालनामा कडाइ गरिएकाले डडेल्धुराबाहेक अन्य क्षेत्रमा ठूला दुर्घटना नभएको प्रहरीले दाबी गरेको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय