दार्चुला – दार्चुलाको लेकम गाउँपालिका वडा नं. ४, जोगी भण्डाराका बासिन्दाहरू वर्षौंदेखि बिजुलीको प्रतिक्षामा छन्। बिजुली सेवा नपाएर उनीहरू निराश छन् र रातभर टुकी र झोराको उज्यालोमा गुजारा गर्न बाध्य छन्, जसले शिक्षा र सामाजिक क्रियाकलापमा नकारात्मक प्रभाव पारेको छ।
प्रकाश ओझाका अनुसार, स्थानीय सरकारले बासिन्दाहरूलाई पटकपटक झूटा आश्वासन दिएको छ। “एक महिना, दुई महिना, दशैं, गोरापर्व, तिहारमा बल्छ” भनेको तर आजसम्म कार्यान्वयन भएको छैन। उनले आक्रोश व्यक्त गर्दै भने, “हामीले पालिकामा आएर बिन्ती गरेका दुई-तीन वर्ष भइसक्यो, तर कुनै सुनवाई भएको छैन। हाम्रा नजिकका गाउँमा बिजुली बलिसकेको छ, तर जोगी भण्डारामा अझै छैन।”
विद्युत् सेवा अभावले विद्यार्थीहरूलाई गम्भीर समस्यामा पार्दैछ। राज ओझाले भने, “बिजुली नहुँदा पढाइमा गम्भीर समस्या भएको छ। गृहकार्य गर्न, किताब पढ्न र परीक्षा तयारी गर्न कठिनाई भइरहेको छ।”
लोकमणि ओझाले पनि गुनासो गर्दै भने, “हामीले बारम्बार आग्रह गर्यौं, तर कुनै समस्या सम्बोधन गरिएको छैन। के हामी सधैं अन्धकारमै बस्नुपर्ने हो?”
सडक र खानेपानीको अभावले पनि स्थानीय जनजीवनमा असर पुर्याएको छ। स्थानीयहरूले गाउँपालिका अध्यक्ष रामदत्त जोशी र उपाध्यक्ष माधुरी जोशीलाई शीघ्र समाधानका लागि अनुरोध गरेका छन्। “हामी अब अन्धकारमा बस्न सक्दैनौं। स्थानीय सरकारले चाँडो समस्या समाधान नगरे, हामी आन्दोलनमा जान बाध्य हुनेछौं,” स्थानीयहरूले चेतावनी दिएका छन्।
