दार्चुला- दार्चुला जिल्लाको महाकाली नगरपालिका–४ स्थित बंगाबगडमा दुई पसलबाट भन्सार छलीका सामान बरामद भएका छन्। आइतवार साँझ जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको टोलीले छापा मारेर करिब तीन लाख रुपैयाँ बराबरका बिलबिनाका सामान नियन्त्रणमा लिएको हो।
प्रहरी निरीक्षक छत्र बहादुर रावतका अनुसार बिएम जनरल स्टोर, सञ्चालक वीर बहादुर बोहराको पसलबाट २ लाख ५० हजार रुपैयाँ बराबरको चिनी, पिठो, तेल, चप्पललगायतका सामान बरामद गरिएको छ। त्यसैगरी, करन सिंह ठगुन्नाको किराना पसलबाट ५० हजार रुपैयाँ बराबरको चिनी र तेल नियन्त्रणमा लिइएको छ।
प्रहरी टोलीले ती पसलका गोदाममा छापा हानी सामानसहित सञ्चालकहरूलाई नियन्त्रणमा लिएको छ। आवश्यक अनुसन्धान र कारबाहीका लागि ती सामान दार्चुला भन्सार कार्यालयको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।
प्रहरीले जिल्लाका अन्य क्षेत्रबाट पनि भन्सार छलीका सामान बरामद गरेको छ, तर ती सामानको विस्तृत विवरण आउन बाँकी छ।
पछिल्लो समय प्रहरीले भन्सार छली नियन्त्रणमा सक्रियता देखाउँदै आएको छ। यसअघि पनि असोज २२ गते सदरमुकाम खलंगास्थित एक पसलमा छापा मारेर भन्सार छलीका सामान बरामद गरिएको थियो।
