बैतडीको पञ्चेश्वर गाउँपालिका–२ मा १७ वर्षीया किशोरी बेपत्ता भएको घटना झनै रहस्यमय बन्दै गएको छ। महाकाली प्रहरी चौकीका निमित्त इन्चार्ज प्रहरी हवल्दार कृष्णराज जोशीलाई किशोरी बेपत्ता पार्न संलग्न रहेको आरोपमा हिरासतमा राखिएको छ। उनलाई निलम्बन गरेर अनुसन्धान अगाडि बढाइएको छ।

जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक जनकराज ढुङ्गानाका अनुसार किशोरीका आफन्तले दिएको उजुरीका आधारमा जोशीमाथि मानिस बेपत्ता पार्न नहुने कसुरमा अनुसन्धान भइरहेको छ। किशोरीका आफन्तका अनुसार असोज २५ गते बिहान प्रहरी हवल्दारसँग भेट भएपश्चात् उनी बेपत्ता भएकी थिइन्।

हवल्दार जोशीको मोबाइलमा किशोरीसँग अँगालो हालेका तस्बिर फेला परेको प्रहरीले जनाएको छ। सोही दिन महाकाली नदी तरेर भाग्ने प्रयासमा रहेका जोशीलाई स्थानीयले पक्राउ गरी दाम्लोले बाँधेर प्रहरी चौकीमा बुझाएका थिए।

जोशीले असोज २५ गते बिहान किशोरीसँग भेटेको स्वीकारे पनि त्यसपछि के भयो भन्ने थाहा नभएको बयान दिएका छन्। तर किशोरीका आफन्तले जोशीकै संलग्नतामा उनी बेपत्ता भएको दाबी गर्दै आएका छन्।

किशोरीका आफन्तले प्रहरीसमक्ष जोशीसँगको निकट सम्बन्ध पुष्टि गर्ने तस्बिर र विवरण पेस गरिसकेका छन्। हवल्दार जोशीले आफू विवाहित रहेको र पारिवारिक व्यवस्थापनका लागि केही समय लाग्ने बताउँदै आएको पनि खुलेको छ।

घटनाको अनुसन्धानका लागि प्रहरी निरीक्षक बलराम पाण्डेको नेतृत्वमा टोली पञ्चेश्वरलगायत स्थानहरूमा खटिएको छ। स्थानीयवासी र जनप्रतिनिधिहरूले प्रहरी चौकीबाट असुरक्षा बढेको भन्दै चौकी सार्न माग गरेका छन्।

गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दका अनुसार प्रहरी चौकी सार्न ६४ जनाको हस्ताक्षर सहित प्रशासनमा निवेदन दिइएको छ। यसबीचमा स्थानीयको विरोधपछि चौकीमा कार्यरत सबै प्रहरी फेरिएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय