दार्चुला – करिब तीन वर्षअघि शिलान्यास भई लामो समयसम्म अलपत्र अवस्थामा रहेको लेकम गाउँपालिका-५ चौपाताको आधारभूत अस्पतालको निर्माण कार्य पुनः सुरू भएको छ। स्थानीय नागरिकलाई चिकित्सकसहितको आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्यका साथ २०७७ साल मङ्सिर १५ गते चौपातामा १० शैयाको आधारभूत अस्पताल भवनको शिलान्यास गरिएको थियो।

संघ र स्थानीय सरकारको संयुक्त लगानीमा पुनः सुरु गरिएको यो अस्पताल निर्माणमा ठेकेदारले पेश्की रकम लिएर काम बीचैमा छोडेको थियो। ७ करोड बढी बजेटमा निर्माण भइरहेको अस्पताललाई अब एक वर्षभित्रै सम्पन्न गर्ने लक्ष्यसहित पुनः निर्माण कार्य सुरु गरिएको निर्माण कम्पनी शिवशक्ति जगदम्बा एमुना जेभीका प्रतिनिधि पदम कार्कीले जानकारी दिनुभयो। विगतमा निर्माण कम्पनीले भवनको लागि फिल्ड सम्याएर काम रोकेको भए पनि पटकपटक ताकेता गर्दा हाल पुनः कार्य सुचारु भएको लेकम गाउँपालिकाका इन्जिनियर केशब बहादुर पालले बताउनुभयो।

उहाँका अनुसार निर्माण कम्पनीले (भ्याट बाहेक) ७ करोड १५ लाख ७३१ रुपैयाँमा भवन निर्माणको सम्झौता गरेको छ, र निर्माणस्थलमा अहिले भवनको जग बनाउने काम भइरहेको छ।

अस्पताल निर्माण भई सञ्चालनमा आएपछि स्थानीयलाई आधारभूत स्वास्थ्य सेवाका लागि टाढा जानुपर्ने अवस्थाको अन्त्य हुने विश्वास गरिएको छ। लामो प्रतीक्षापछि पुनः निर्माण कार्य सुरु भएकोले लेकमवासीमा उत्साह छाएको छ। यद्यपि, विगतमा नियमित काम नभएकोले ढुक्क भइहाल्ने अवस्था नरहेको स्थानीयको भनाइ छ।

सम्झौता अवधि सकिएर पटकपटक म्याद थप्दा पनि भवन निर्माण नहुनु दुःखद भएकोले स्थानीयले पालिका र निर्माण व्यवसायीसँग चाँडो काम सम्पन्न गर्न आग्रह गरेका छन्।

दार्चुलाका नौ स्थानीय तहमध्ये महाकाली नगरपालिकामा जिल्ला अस्पताल र शैल्यशिखर नगरपालिकामा गोकुलेश्वर अस्पताल छन्। आधारभूत अस्पताल निर्माण भइरहेका सात गाउँपालिकामध्ये नौगाड र मालिकार्जुनमा भवन उद्घाटन भई सेवा सुचारु भइसकेको छ। मार्मा, अपिहिमाल र व्याँसमा भवन निर्माणाधीन अवस्थामा छन्, भने अलपत्र रहेका दुहुँ र लेकममा बल्ल अस्पताल निर्माण कार्य थालिएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय