दार्चुला – सवारी सुरक्षाको नियम उल्लङ्घन गर्ने सवारी साधनहरूलाई कडाइका साथ कारबाही गर्दै आइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय, दार्चुलाले पुनः कडा कदम चालेको छ। मिति २०८१।०८।१३ गते यस कार्यालय र जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको संयुक्त प्रहरी टोलीले जिल्लाका विभिन्न सडक खण्डहरूमा सवारी साधन चेकजाँच सञ्चालन गरेको थियो।
चेकजाँचको क्रममा सिट क्षमताभन्दा बढी यात्रु बोक्ने ७ भाडाका सवारी साधनहरूसहित नियमविपरीत गतिविधि गरिरहेका अन्य ४ सवारी साधनलाई पनि कारबाही गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले भाडाका सवारीमा यात्रुको सिट क्षमताभन्दा बढी यात्रु राखेर यात्रुको सुरक्षामा खेलवाड गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न कारबाहीलाई निरन्तरता दिने बताएको छ। साथै, यस चेकजाँच अभियानले सडक दुर्घटना न्यूनिकरणमा महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
प्रहरीले यात्रु र सवारी चालकलाई पनि यातायात नियम पालना गर्न आग्रह गर्दै सवारी साधनको नियमित जाँच तथा आवश्यक कागजातहरूको अद्यावधिक गर्न ध्यान दिनुपर्नेमा जोड दिएको छ। ट्राफिक प्रहरीले आगामी दिनमा पनि यस्ता अभियानलाई झनै प्रभावकारी बनाउँदै लैजाने बताएको छ।
