दार्चुला: दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर २ कैनोडा (साच्चोरी) मा शुक्रबार राति सुख्खा पहिरो गएको छ। पहिरोले साच्चोरीमा रहेका दुई वटा खानेपानीका (न्वालो) मुहानमा पूर्ण रूपमा क्षति पुगेको छ।
नेपाली कांग्रेस लेकम गाउँपालिका वडा नम्बर २ का वडा सभापति केशव राज जोशीका अनुसार, पहिरोका कारण स्थानीय १२ घरपरिवारले प्रयोग गर्दै आएका खानेपानीका दुई वटा मुहान पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्।
स्थानीय गोपाल दत्त जोशीले गए राति एक्कासी गएको सुख्खा पहिरोले आफ्नो उखुबारीमा पनि क्षति पुर्याएको बताउनुभयो। उहाँका अनुसार, खानेपानीका मुहानमा क्षति पुगेपछि स्थानीय बासिन्दाले करिब एक घण्टाको दूरीमा रहेको कैनोडा मुहानबाट पानी ल्याउनुपर्ने बाध्यता भएको छ।
