दार्चुला: दार्चुला जिल्लाको लेकम गाउँपालिकाले आयोजित अध्यक्ष कप भलिबल प्रतियोगिता अन्ततः विवादकै बीच समापन भएको छ। प्रतियोगितामा प्रथम स्थान वडा नम्बर ४ ले हात पार्दै २५,५०० रुपैयाँ नगद, सिल्ड, मेडल, र प्रमाणपत्र प्राप्त गरेको छ। दोस्रो स्थान वडा नम्बर २ ले हासिल गर्दै १५,५०० रुपैयाँ नगदसहित,सिल्ड,मेडल, प्रमाणपत्र प्राप्त गरेको छ। तर, तेस्रो स्थानका लागि विवादका कारण निर्धारित खेल हुन नसक्दा पुरस्कार कसैलाई पनि प्रदान गरिएन।
प्रतियोगिता सुरु भएदेखि नै व्यवस्थापनको कमजोरी, नियमहरूको अस्पष्टता, र निर्णयप्रति असन्तुष्टिका कारण पटक–पटक विवाद उत्पन्न भएका थिए। खेलाडीहरूले प्रतियोगिताको निष्पक्षता र पारदर्शितामाथि गम्भीर प्रश्न उठाउँदै, व्यवस्थापनप्रति आक्रोश व्यक्त गरेका थिए। विशेषगरी, निर्णायकको भूमिकाबारे खेलाडीहरूले चासो प्रकट गर्दा तेस्रो स्थानका लागि खेल नै सम्पन्न हुन नसकेको आयोजकले स्वीकार गरेको छ।
यस प्रतियोगिताले स्थानीयस्तरमा खेलकुदको प्रवर्द्धनका लागि सकारात्मक पहल गरेको भए पनि बारम्बारका विवादले यसको गरिमा केही हदसम्म खस्काएको छ। स्थानीय सरकारले यस्ता गतिविधि आयोजनामा देखिएका कमजोरीलाई सुधार्दै, आगामी दिनमा खेललाई व्यवस्थित र मर्यादित बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।
अध्यक्ष कप जस्तो प्रतियोगिताले खेलकुदलाई प्रोत्साहन दिन योगदान पुर्याए पनि यसपटकको व्यवस्थापन र विवादले भविष्यमा यस्ता कार्यक्रमहरूलाई अझ पारदर्शी र प्रभावकारी बनाउनुपर्ने आवश्यकता उजागर गरेको छ।
