दार्चुला: दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ५, मैखोली अम्कुरुका स्थानीयवासी विगत केही समयदेखि खानेपानीको चरम समस्याले प्रभावित बनेका छन्। २०५४ सालदेखि शैलीशिखर नगरपालिका वडा नम्बर ७ दोबाटाको बसन्ते मुहानबाट खानेपानी आपूर्ति हुँदै आएको भए पनि हाल पानी टुट्ने, मन्द मात्रामा आउने र पर्याप्त नहुने समस्याका कारण स्थानीयको दैनिकी चलाउन कठिन भएको छ।
२०७४ सालमा मर्मतका लागि बजेट आएर खानेपानी योजना मर्मत गरिएको भए पनि त्यसयता कुनै नयाँ योजना नआएको स्थानीयहरूले गुनासो गरेका छन्। कहिलेकाहीँ पानी एक महिनासम्म पनि पूर्ण रूपमा बन्द हुने गरेको छ। गाईवस्तुलाई पानी खुवाउन र सागसब्जी लगाउन मुस्किल भएको स्थानीय केशवराज जोशीले जानकारी दिए।
पानी टुटेपछि घन्टौं हिँडेर टाढाबाट पानी बोक्नुपर्ने बाध्यता रहेको स्थानीयहरूको गुनासो छ। मैखोली अम्कुरुको तल्लो भेगतिर प्रशस्त मुहान भए पनि त्यसलाई माथिल्लो गाउँसम्म ल्याउन कुनै ठोस पहल नभएकोले समस्या जस्ताको तस्तै रहेको छ। यदि तल्लो भेगका मुहानहरूको पानीलाई व्यवस्थित तरिकाले माथिल्लो बस्तीमा पुर्याउने व्यवस्था गर्न सके खानेपानीको समस्या समाधान हुने स्थानीयहरूको विश्वास छ। तर यसमा कुनै प्रयास नहुनु दुःखद रहेको उनीहरूले बताएका छन्।
दुर्गादत्त जोशीले पानी लगाउनका लागि दुर्गम र जोखिमपूर्ण बाटो प्रयोग गर्नुपर्ने बताए। उहाँ स्वयं पानी लगाउन जाँदा बाटोबाट चिप्लिएर केही मिटर तल खसेको र रुखमा अड्किएको घटनाको स्मरण गर्दै अहिले पानी ल्याउन जानै डर लागेको बताए।
स्थानीय बासिन्दाहरूले पानीको दीर्घकालीन व्यवस्थापन र समाधानका लागि कुनै ठोस प्रयास गर्नुपर्ने आवश्यकता रहेको बताउँछन्।
