दार्चुला: दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ७ र ८ का विभिन्न बस्तीहरूमा डिपिआरसहित सिफारिस गरिएका स्वीकृत खानेपानी योजनाहरू कटौती गरिएको भन्दै वडाअध्यक्षहरू र स्थानीयहरूले आपत्ति जनाएका छन्।

खानेपानीको आपूर्ति समाधानका लागि तयार गरिएको पाँच वटा स्किममा आधारित योजनाहरू कटौती गरिएको आरोप लगाउँदै वडा नम्बर ७ का वडाअध्यक्ष पुष्पराज जोशी र वडा नम्बर ८ का वडाअध्यक्ष केशवदत्त जोशीले संयुक्त विज्ञप्ति जारी गरेका छन्।

विज्ञप्तिमा उल्लेख भएअनुसार, २०७८/०७९ को बजेटमा तत्कालीन सांसद गणेशसिंह ठगुन्नाको पहलमा देवल बन्तोली लिफ्ट खानेपानी योजना स्वीकृत गरिएको थियो। योजनाको डिपिआरसमेत तयार भइसकेको अवस्थामा वर्तमान सांसद दिलेन्द्रप्रसाद बडूले सेवा क्षेत्र कटौती गरी योजना संशोधन गराएको आरोप लगाइएको छ।

वडाअध्यक्षद्वयका अनुसार, गोकुले देवल, सुपले, मुड्डा, मल्लाचौरा, मल्लालेक, पतेगैर, सन्तोली, बन्तोली, बगौरा, गोलीचौरा, बिरालीपोखरा, मम्च, र मुड्डा देवथली लगायतका बस्तीहरूमा खानेपानीको समस्या समाधान गर्न ५ वटा स्किम (गोकुलेगाड–सुपले, इजराफेर–बुड्ढा, भम्क–बन्तोली, तातापानी–मल्लालेक पतेगैर, र ढोपागाड–देवथली) अन्तर्गत सर्वेक्षण गरी योजनाहरू स्वीकृत गर्ने प्रक्रिया अघि बढाइएको थियो।

तर, स्वीकृत योजनाहरूलाई समेट्नुको सट्टा कटौती गरी एउटा मात्र स्किममा सीमित गरिएको भन्दै वडाअध्यक्षहरूले यस्तो निर्णयलाई राजनीतिक, कानुनी र नैतिक हिसाबले अनुचित भनेका छन्।

वडाअध्यक्षहरूको विज्ञप्तिमा साविकका ५ वटा स्किमलाई यथावत् सञ्चालन गर्न खानेपानी मन्त्रालय र विभागलाई आग्रह गरिएको छ। यदि योजनाहरू पुनःसमावेश नगरी यसरी जनताको खानेपानीको अधिकारमा बाधा पुर्‍याइएमा कानूनी उपचारमा जाने चेतावनी पनि दिइएको छ।

स्थानीय बासिन्दाको आधारभूत आवश्यकता र अधिकार सुनिश्चित गर्न आवश्यक पहल गर्नुपर्नेमा सांसद बडूको निर्णयले वडा बासी शुद्ध खानेपानी पाउनबाट वञ्चित हुने अवस्था सिर्जना गरेको भन्दै वडाअध्यक्षहरूले गम्भीर आक्रोश व्यक्त गरेका छन्।

वडाबासीको तर्फबाट कानूनी लडाइँ लड्न तयार रहेको भन्दै, वडाअध्यक्षहरूले यस विषयमा तत्काल सुधारको माग गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय