दार्चुला – दार्चुलामा आगलागी हुँदा जलेर ठूलो धनमाल नष्ट भएको छ। जिल्लाको व्यास गाउँपालिका-२, राप्लाको दुम्लिङ्ग बिचगाउँमा माघ ११ गते दिउँसो करिब ३ बजे भएको आगलागीमा ठूलो क्षति भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। स्थानीय सुकुन्द्र सिंह बुढाथोकीको घरमा लागेको आगलागीले दुई कोठा र खाद्यान्न पूर्णरूपमा जलेर नष्ट भएको पारिवारिक स्रोतले जनाएको छ । साथै, सोही घरमा बस्ने श्री हरसिंह धामीको खाद्यान्न र केही सामग्री पनि जलेर नष्ट भएको जानकारी प्राप्त भएको छ ।
स्थानीयहरूका अनुसार आगलागी बालबालिकाको लापरबाहीका कारण भएको र व्यास गाउँपालिका-२ का वडाध्यक्ष धिरन सिंह बुढाथोकीको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीहरूको सक्रियता मा आगो नियन्त्रणमा लिएको वडाध्यक्ष बुढाथोकीले जनाए उनका अनुसार आगो नियन्त्रणमा लिन ढिलो भएको भए सम्पूर्ण बस्ती नै जोखिममा पर्ने सम्भावना रहेको थियो।
आगोका कारण पीडित परिवारहरूले ठूलो क्षति व्यहोर्नु परेको छ। स्थानीय प्रशासन र सरोकारवाला निकायहरूले प्रभावित परिवारलाई सहयोग पुर्याउन आवश्यक पहल गर्ने अपेक्षा गरिएको छ।
