दार्चुला: खलंगास्थित एक होटलबाट चोरीको भारतीय मुद्रा र गहना बरामद गर्दै प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ परेका व्यक्ति कालिकोटको नरहरिनाथ गाउँपालिका–९ स्थायी ठेगाना भएका ४० वर्षीय परेखबहादुर शाही हुन्।

प्रहरीका अनुसार शाही राजस्थानको जयपुरबाट चोरी गरेर फरार भएका थिए। हिजो साँझ खलंगा पुल पार गर्दै स्थानीय एक होटलमा बसेको सूचनाका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो। पक्राउका क्रममा शाहीको साथबाट ३ लाख २८ हजार भारतीय रुपैयाँ, २७८ ग्राम चाँदीजस्तो गहना, र ११० ग्राम सुनजस्तो गहना बरामद गरिएको छ।

प्रारम्भिक अनुसन्धानले शाहीले डेढ करोड रुपैयाँ बराबरको नगद र गहना चोरी गरेको देखाएको छ। घटनामा भारतीय नागरिकको समेत संलग्नता रहेको शंका गरिएको छ। प्रहरीले अर्को एकजना फरार व्यक्तिको खोजी गरिरहेको जनाएको छ।

घटनाको विषयमा थप अनुसन्धान जारी रहेको प्रहरी स्रोतले जानकारी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय