दार्चुला – महाकाली नगरपालिका–५ किम्तडी ठण्याकाठामा सडक निर्माणको क्रममा गएको पहिरोका कारण पाँच दिनदेखि अवरुद्ध महाकाली लोकमार्ग अन्तर्गत खलंगा–गोकुलेश्वर सडक खण्ड पुनः सञ्चालनमा आएको छ।
सडक सुचारु गर्न निर्माण व्यवसायीले स्काइभेटर प्रयोग गरी हिजोबाट पहिरो पन्छाउने काम थालेका थिए। दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीका अनुसार आज दिउँसोपछि सडकमा यातायातका साधनहरू संचालनमा आएका छन्। तर, सडक भासिएको क्षेत्रमा जोखिम कायमै रहेको भन्दै सावधानी अपनाउन आग्रह गरिएको छ।
सडक अवरुद्ध हुँदा जिल्लाका विभिन्न स्थानसँगै दार्चुलाबाट कैलाली, कञ्चनपुर, काठमाडौँ जाने र खलंगा भित्रिने सवारीसाधन र यात्रुहरूले निकै कठिनाइ भोग्नु परेको थियो। खलंगादेखि किम्तडीसम्म पैदल यात्रा गर्न समेत असहज भइरहेको थियो।
जमार्ग सञ्चालनमा आएपछि यात्रु र व्यवसायीलाई सहज भएको छ। किम्तडी क्षेत्रमा सवारी साधनको आवागमन पुनः शुरू भएसँगै व्यापारिक गतिविधि पनि क्रमिक रूपमा सुचारु हुँदै गएको छ।
