दार्चुला– चैत महिनाको सुरुआतसँगै दार्चुलासहित सुदूरपश्चिमका विभिन्न जिल्लामा भिटौलो पर्व मनाइँदै छ। माइती पक्षले प्रत्येक वर्ष चैतमा छोरीबहिनी भेट्ने परम्परा अनुसार मिठोमसिनो पकाएर उनीहरूको घरमा जाने चलन रहेको छ।
दार्चुलाका गंगासागर जोशीका अनुसार चैत महिनामा दिदीबहिनी भेट्न नजाँदा अपशकुन हुन्छ भन्ने मान्यता छ। माइती पक्षले छोरीबहिनीका सुखदुःख बुझ्ने, आत्मीयता बढाउने र सम्बन्ध प्रगाढ बनाउने उद्देश्यले यो चलन रहिआएको संस्कृतिविद्हरू बताउँछन्।
पहिले घरमै भएको सामग्री लिएर भिटौलो जान्थे, तर अहिले बजारबाट विभिन्न सामान किनेर लैजाने चलन बढेको छ। यस कारण चैत महिनामा बजारहरूमा चहलपहल पनि बढ्ने गरेको व्यापारीहरू बताउँछन्।
भिटौलो पर्व दाजुभाइ-दिदीबहिनीबीचको प्रेम र आत्मीय सम्बन्ध झल्काउने परम्परा भएको संस्कृतिविद्हरू बताउँछन्। माइतीघरको माया सम्झाउने यो परम्परा पुस्तौँदेखि चल्दैआएको छ।
