दार्चुला — जिल्लाको मालिकार्जुन गाउँपालिका-८ स्थित शंकरपुर क्याम्पसमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा अनेरास्ववियु (क्रान्तिकारी) तर्फबाट जानकी टमटा अध्यक्ष पदमा विजयी भएकी छन्। उनले दलित समुदायबाट स्ववियु अध्यक्ष पदमा निर्वाचित भई देशकै पहिलो दलित महिला स्ववियु अध्यक्षको रूपमा इतिहास रचेकी छन्।
मालिकार्जुन-८ कै स्थायी बासिन्दा जानकी टमटा सानैदेखि राजनीतिमा रुचि राख्थिन्। उनकी आमा मानमती टमटा २०७४ सालको स्थानीय तह निर्वाचनमा दलित महिला सदस्यमा निर्वाचित भएकी थिइन्। आमाकै प्रेरणाले आफू विद्यार्थी राजनीतिमा सक्रिय भएर अध्यक्ष पदमा पुग्न सफल भएको जानकीको भनाइ छ।
हाल स्नातक तह दोस्रो वर्षमा अध्ययनरत जानकी निडर स्वभावकी छन्। समाजका विकृति, विसङ्गतिहरू विरुद्ध दृढतापूर्वक आवाज उठाउने बानीले नै उनलाई नेतृत्वमा पुर्याएको बताइन्छ।
उनले माओवादी आन्दोलनले पछाडि पारिएका वर्ग समुदायको उत्थानका लागि महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै आफू पनि त्यही विचारधाराबाट प्रेरित भएको बताएकी छन्।
आफ्नो नेतृत्वकालमा शंकरपुर क्याम्पसका विभिन्न शैक्षिक समस्या समाधान गर्दै यसलाई उत्कृष्ट शैक्षिक संस्था बनाउन पहल गर्ने उनको प्रतिबद्धता छ।
✍️ नरेश प्रसाद जोशी
