दार्चुला: दार्चुला उद्योग वाणिज्य संघको आयोजनामा २०८१ सालको चैत्र १५ गतेदेखि खलंगामा सञ्चालन हुन गइरहेको सुदूरपश्चिम पर्यटन व्यापार मेला तथा दार्चुला महोत्सव २०८१ लाई भव्य, सभ्य, मर्यादित तथा पर्यटनमैत्री बनाउन नेपाल विद्यार्थी संघ, दार्चुलाले विभिन्न सुझावसहित औपचारिक अनुरोध पत्र बुझाएको छ।
नेविसंघका उपाध्यक्ष भुपेन्द्र सिंह धामीले संघलाई बुझाएको अनुरोध पत्रमा महोत्सवलाई व्यवस्थित, सुरक्षित र सर्वसाधारणमैत्री बनाउनुपर्नेमा जोड दिइएको छ। पत्रमा खानेपानी र शौचालय व्यवस्थापन, विद्यार्थी, अशक्त, जेष्ठ नागरिक र बालबालिकाका लागि विशेष छुट, मदिरा, सुर्तिजन्य पदार्थ तथा लागुऔषधको नियमन, स्थानीय कलाकारलाई प्राथमिकता, जुवाजन्य खेल निषेध, प्राथमिक उपचार कक्षको व्यवस्था, तथा स्थानीय उत्पादन र पहिचान प्रवर्द्धन जस्ता महत्वपूर्ण विषयमा ध्यान दिन आग्रह गरिएको छ।
दार्चुला उद्योग वाणिज्य संघका पदाधिकारीहरूले नेविसंघका सुझावहरूलाई महोत्सवको व्यवस्थापनमा समावेश गरिने बताएकाछन्।
