दार्चुला — संघीय सरकारको सशर्त अनुदानमा व्यास गाउँपालिकाबाट निर्माण गरिने व्यास पैदलबाटो निर्माणका लागि दुई निर्माण कम्पनी प्रतिस्पर्धामा उत्रिएका छन्। संघीय सरकारबाट प्राप्त साढे पाँच करोड रुपैयाँ खर्चेर पैदलमार्ग निर्माण गर्न गाउँपालिकाले टेन्डर आह्वान गरेको थियो।
चैत्र १३ गतेसम्मको एक महिनासम्म खुलेको सूचना अवधिमा दुई समूहले प्रस्ताव पेश गरेको गाउँपालिकाले जनाएको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयबाट टेन्डर प्रक्रिया दुई दिन थपिएपछि आइतबारदेखि प्रस्तावहरूको मूल्यांकन कार्य सुरु भएको सब-इन्जिनियर जगत सिंह डडालले जानकारी दिनुभयो।
दार्चुलाका स्थानीय निर्माण कम्पनीहरूले प्रतिस्पर्धामा भाग लिएका छन्। नमस्कार निर्माण सेवा र रिठगडे निर्माण सेवाले संयुक्त रूपमा (जेभी) प्रस्ताव दर्ता गरेका छन् भने देवहरि निर्माण सेवाले मिशन कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालि, काठमाडौंसँग साझेदारी गर्दै संयुक्त (जेभी) प्रस्ताव पेश गरेको छ।
हाल दुवै प्रस्तावहरूको प्राविधिक मूल्यांकन भइरहेको छ, जसको प्रक्रिया दुई-तीन दिनभित्र सकिने सब-इन्जिनियर डडालले बताउनुभयो। कागजातहरू जाँचपछि मात्र आर्थिक प्रस्ताव खोलिनेछ।
टेन्डर प्रतिस्पर्धामा २ करोड ८० लाख रुपैयाँ बराबरको उस्तै प्रकृतिको कार्यानुभवको शर्त राखिएकाले धेरै निर्माण कम्पनीहरू प्रतिस्पर्धाबाट बाहिरिएका छन्। देशभर यस्ता अनुभव भएका केवल दुई दर्जन कम्पनी मात्र रहेका छन्, तीमध्ये अधिकांशले यो टेन्डरमा चासो देखाएका छैनन्।
कार्यानुभवको उच्च मागका कारण प्रस्तावहरू संयुक्त (जेभी) रूपमा दर्ता भएका छन्। प्राविधिक र आर्थिक प्रस्ताव खुलेपछि एक हप्ताभित्र आशयपत्र सार्वजनिक गरिनेछ। त्यसपछि १५ दिनको समयावधि दिएर छनोट गरिएको कम्पनीलाई सम्झौताका लागि बोलाइनेछ।
गाउँपालिकाले निर्माण कम्पनीसँग ठेक्का सम्झौता गरेपछि मात्र पैदलमार्ग निर्माण सुरु हुनेछ। निर्माण कार्य सुरु हुन कम्तीमा तीन हप्ता लाग्ने अनुमान गरिएको छ। नयाँ वर्षतिर ठेक्का सम्झौता भई काम सुरु हुनसक्ने प्राविधिकहरूको भनाइ छ।
संघीय सरकारको सशर्त अनुदान भएकाले चालू आर्थिक वर्षभित्रै पैदलमार्ग निर्माण कार्य सम्पन्न गरी बजेट खर्च गर्नुपर्ने बाध्यता छ। तर, कठिन भूगोल, चट्टानी भिरालो क्षेत्र र समय अभावका कारण तोकिएको समयमै पैदलमार्ग निर्माण सम्पन्न हुनेमा स्थानीयवासीले आशंका व्यक्त गरेका छन्।
