दार्चुला । नौगाड गाउँपालिका–६, रैचुमा कार्यरत अहेव गजेन्द्र धामी बिरामीको उद्धारका लागि आफैं अग्रसर भएका छन्।
२०७५ सालदेखि सामुदायिक स्वास्थ्य इकाइ रैचुमा करार सेवामा कार्यरत धामीले ६५ वर्षीय मते ठगुन्नाको उपचारमा सक्दो प्रयास गरेका थिए। तर, घरमै उपचार गर्दा सुधार नभएपछि उनले स्टेचर मगाई स्थानीय युवासँग मिलेर बिरामीलाई बोकेर गाडीको बाटोसम्म पुर्याए। त्यसपछि बिरामीलाई नौगाड गाउँपालिकाको खेडासम्म लगेर गोकुलेश्वर अस्पताल पठाइएको थियो।
यस घटनाले स्वास्थ्य सेवाको पहुँच गाउँगाउँमा पुगेको देखाए पनि अझै पूर्वाधारको अभाव रहेको स्पष्ट पार्छ। एक समय गाउँमा बिरामी पर्दा धामीझाँक्रीकहाँ लैजाने चलन थियो, तर अहिले गाउँकै स्वास्थ्य इकाइमा प्रशिक्षित स्वास्थ्यकर्मी छन्। गजेन्द्र धामीजस्ता युवाले विदेश जानुको साटो आफ्नै गाउँमा सेवा दिइरहेकाले स्थानीयलाई सहज भएको छ।
स्वास्थ्य सेवामा मात्र होइन, सामाजिक कार्यमा पनि सक्रिय रहेका धामीजस्ता युवाको योगदान प्रेरणादायी छ। स्वदेशमै सेवा गरेर समुदायलाई सहयोग गर्न सकिने उनको उदाहरणीय कार्यले देखाएको छ।
– उपेन्द्र सिंह ठगुन्ना (खर्कालो)
