दार्चुला: दार्चुला महोत्सव स्थानिय संस्कृति, कला र प्रतिभालाई उजागर गर्ने प्रमुख मंच हो। यही महोत्सवमा कुनै समय नाटक प्रदर्शन गरेका स्थानिय कलाकार उपेन्द्र सिंह ठगुन्ना (खर्कालो) ले यसपालि टिकट काटेर महोत्सव हेर्नुपरेको स्टाटस फेसबुकमा राखे। उनले टिकटको फोटो पोस्ट गर्दै स्थानिय कलाकारहरूको अवस्था झल्काएका छन्।

दार्चुला उद्योग वाणिज्य संघ, खलंगा दार्चुलाको आयोजनामा २०८१ चैत्र १५ देखि २५ गतेसम्म संचालन हुने यो महोत्सवले विभिन्न सांस्कृतिक तथा व्यापारिक गतिविधिहरू समेटेको छ। तर, स्थानिय कलाकारहरूको सहभागितामा अपेक्षित प्राथमिकता नदिइएको गुनासो आइरहेको छ।

अपि कला संस्कृति तथा साहित्यिक मञ्च दार्चुलाका अध्यक्ष उपेन्द्र सिंह ठगुन्ना २०७५ सालको “दार्चुला आइडल” मा उत्कृष्ट १० भित्र परेका थिए। अपि नाम्पा संरक्षण क्षेत्रका पाँच स्थानमा सडक नाटक प्रदर्शन गरेर समाजमा चेतना फैलाएका उनी मालिकार्जुन गाउँपालिकाका विभिन्न स्थानमा गुड नेभर्स इन्टरनेसनल नेपालको आर्थिक सहयोगमा नाटक प्रस्तुत गरिसकेका छन्। महाकाली नगरपालिकाका विभिन्न ठाउँमा १५ दिनसम्म नाटक देखाएका उनी यतिखेर भने ओझेलमा छन्।

तर, कठिनाइबीच पनि उनी कलाक्षेत्रमा निरन्तर सक्रिय छन्। “खर्कालो” नामक युट्युब च्यानलमार्फत हास्यव्यङ्ग्य प्रस्तुत गर्दै आएका उनले डोटेली भाषा, कला र संस्कृतिको जगेर्नामा ठूलो भूमिका खेलिरहेका छन्।

स्थानिय कलाकारहरूको योगदानलाई उपेक्षा गरिरहने हो भने कलाक्षेत्र संकटमा पर्न सक्छ। सम्बन्धित निकाय तथा समाजले यस्ता कलाकारहरूलाई उचित सम्मान, अवसर र सहयोग प्रदान गर्नुपर्छ, ताकि डोटेली भाषा, कला र संस्कृतिको जगेर्ना निरन्तर रहन सकोस्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय