दार्चुला – सुक्खा याम सुरु भएसँगै नौगाड गाउँपालिका वडा नम्बर ६ स्थित शिखर टोलका बासिन्दा चरम पानी संकटमा परेका छन् । गाउँ नजिकै कुनै पनि खानेपानीको मुहान नहुँदा स्थानीयहरूलाई दैनिक दुई घण्टा हिँडेर पानी बोक्नु परेको छ ।

शिखर टोलभन्दा माथिल्लो क्षेत्र र वरिपरिका स्थानमा खानेपानीको स्थायी स्रोत छैन । गाउँमा रहेको एउटा पोखरी पनि अहिले सुकिसकेको छ । बर्खायाममा जम्मा भएको उक्त पोखरीको पानी गाईवस्तुका लागि प्रयोग हुँदै आएको थियो । घरायसी प्रयोजनका लागि करीब ६/७ वर्ष पहिले ग्रामीण खानेपानी तथा सरसफाइ कार्यक्रम (RVWRMP) मार्फत प्रत्येक घरधुरीमा ६,००० लिटर क्षमताको टिनको छानासहितको पानी ट्याङ्की निर्माण गरिएको थियो । हाल ती ट्याङ्कीहरूमा समेत पानी सकिएको छ ।

गाउँ नजिकै मुहान नहुँदा Gravity Flow System बाट पानी ल्याउन सकिने अवस्था छैन । वर्षायाममा पोखरीमा जम्मा हुने पानी पनि सुकिसकेको र खडेरीले घरमै रहेको ट्याङ्कीको पानी समेत सुकाइ दिएको स्थानीय धन्जित ठगुन्नाले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले अधिकांश स्थानीयहरू पानीका लागि दुई घण्टा हिँड्न बाध्य भएका छन् ।

यता, प्रदेश सरकारले सञ्चालनमा ल्याएको पञ्चवर्षीय शिखर लिफ्टिङ खानेपानी आयोजना अन्तर्गत हाल तल्लो शिखरसम्म मात्रै पानी पुगेको छ । मल्लो शिखरसम्म पानी पुग्न अझै केही समय लाग्ने देखिएको छ ।

 

 – उपेन्द्र सिंह ठगुन्ना (खर्कालो)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय