दार्चुला — गोकुलेश्वर बहुमुखी क्याम्पस, शैल्यशिखर–९, दार्चुलामा यही चैत्र २७ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि दिनेशराज पन्तले सभापति पदमा स्वतन्त्र उम्मेदवारी दिएका छन्। कुनै पनि राजनीतिक दलसँग नजोडिई स्वतन्त्ररूपमा उम्मेदवारी दिएका पन्तले स्ववियु निर्वाचनमा निष्पक्षता र स्वतन्त्रताको पक्षमा दृढ उभिने प्रतिबद्धता जनाएका छन्।

उम्मेदवारी दर्ताको समयमा उहाँसँग ११ सदस्यीय स्वतन्त्र प्यानल थियो। तर राजनीतिक हस्तक्षेप, दबाब, डर, धम्की र त्रासका कारण अन्य सदस्यहरूलाई उम्मेदवारी फिर्ता गरिन बाध्य पारिएको आरोप पन्तले लगाएका छन्। यस्तो चुनौतीपूर्ण परिस्थितिमा पनि पन्तले हिम्मत नहारिकन निडर ढंगले सभापति पदमा उम्मेदवारी दिएका हुन्।

“स्वतन्त्र सोच, सबल नेतृत्व—हाम्रो पहिचान, शिक्षामा सुशासन हाम्रो अभियान” भन्ने नारासहित पन्तले क्याम्पस विकासका लागि २० बुँदे प्रतिबद्धता सार्वजनिक गरेका छन्।

उहाँले प्रस्तुत गरेको कार्ययोजनामा शिक्षण गुणस्तर सुधार, खेलमैदान निर्माण, डिजिटल पुस्तकालयको प्रवर्द्धन, छात्रावास र शुद्ध खानेपानीको व्यवस्था, प्रविधिमैत्री शिक्षा प्रणाली, छात्रा शौचालय सुधार, लोकसेवा तथा सीपमूलक तालिम, वार्षिक खेलकुद सप्ताह, शैक्षिक भ्रमण, सिसिटिभी जडान, परिचयपत्र तथा पोसाक अनिवार्य, प्राथमिक उपचार सेवा लगायतका विषय समेटिएका छन्।

विद्यार्थीको हकहित र क्याम्पसको समग्र विकासका लागि कटिबद्ध रहेको पन्तले निष्पक्ष र स्वतन्त्र प्यानललाई साथ दिन विद्यार्थीहरूसँग अपिल गरेका छन्।

“सबै विद्यार्थीको साथ र समर्थनबाट क्याम्पसमा शिक्षामा सुशासन र समृद्धिको नयाँ युग सुरु गर्न चाहन्छु,” उम्मेदवार पन्तले भने।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय