काठमाडौँ । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपाल शिक्षकहरूलाई आन्दोलनको स्वरूप परिवर्तन आग्रह गरेको छ । अध्यक्ष गुणराज मोक्तानले एक विज्ञप्ति जारी गर्दै परिस्थितिको आँकलन गर्दै आन्दोलनको स्वरूप परिवर्तन गर्न आग्रह गरेका हुन् ।
शिक्षा ऐन जारी गर्ने विषयमा जिम्मेवार बन्न नेपाल शिक्षक महासङ्घको आन्दोलनलाई नजर अन्दाज नगर्न समेत विज्ञप्ति मार्फत सरकारलाई अनुरोध गरिएको छ ।
अवरुद्ध भएका परीक्षा, नतिजा प्रकाशन तथा विद्यार्थी भर्ना कार्यलाई सहजीकरण गर्न समेत देशभरका विद्यालय व्यवस्थापन समितिहरूलाई आह्वान गरिएको छ ।
विद्यालय शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने मागसहित महासङ्घको नेतृत्वमा भइरहेको आन्दोलनप्रति महासङ्घले समेत ऐक्यबद्धता जनाएको छ ।
तत्काल विद्यालय शिक्षा ऐन जारी हुने विश्वसनीय आधारसहितको कार्यतालिका ल्याउन समेत माग गरेको छ । आपसी संवाद मार्फत समस्याको निकास खोज्न र तत्काल शिक्षकहरूलाई सडकबाट विद्यालयमा फर्काउन समेत सरकारसँग अनुरोध गरे ।
शिक्षक आन्दोलन अन्तर्गतको शैक्षिक आम हड्तालबाट करिब २८ हजार सामुदायिक विद्यालयहरूका विद्यार्थीको परीक्षा सञ्चालन, नतिजा प्रकाशन र भर्ना प्रक्रिया अवरुद्ध भएको छ ।
लाखौँ बालबालिकाको अधिकार र मनोविज्ञानमा परेको गम्भीर असर र अभिभावकहरूमा छाएको अन्यौलताप्रति महासङ्घले चिन्ता व्यक्त गरेको छ ।
