दार्चुला — नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत पर्ने दार्चुलाको निर्वाचन क्षेत्र रणनीतिक सडक अन्तर्गत मार्मा गाउँपालिकाको बिटुले–पारीबगड सडकखण्डमा कालोपत्रे गरिएको छ। कुल १० किलोमिटरमध्ये ४ किलोमिटर सडक कालोपत्रे सम्पन्न भएको हो।

सडक डिभिजन कार्यालय, बैतडीका इञ्जिनियर तथा सूचना अधिकारी लिलाधर भट्टका अनुसार चालु आर्थिक वर्ष २०८१/०८२ को बजेटबाट मार्मा गाउँपालिका–३ बिटुलेदेखि कोपरेसम्मको सडकखण्ड कालोपत्रे गरिएको हो।

निर्वाचन क्षेत्र रणनीतिक सडकको काम सडक डिभिजन कार्यालय, बैतडीले आर्थिक वर्ष २०७९/०८० देखि गर्दै आएको हो। यस सडकको ट्याक तत्कालीन जिल्ला विकास समितिअन्तर्गत विकेन्द्रीत ग्रामीण पूर्वाधार तथा जीविकोपार्जन सुधार कार्यक्रम (DRILIP) बाट आर्थिक वर्ष २०६५/०६६ मा खोलिएको थियो। करिब १७ वर्षपछि केन्द्र सरकारले उक्त सडक कालोपत्रे गरेको हो।

 

बजेट अभावका कारण हाल चार किलोमिटर मात्रै कालोपत्रे गरिएको र थप कामका लागि आवश्यक कागजात विभागमा पठाइएको भट्टले जानकारी दिनुभयो। ५ करोड ४० लाख रुपैयाँ खर्चमा सम्पन्न कालोपत्रेको काम गत चैतदेखि सुरु भई वैशाख १० गते सम्पन्न भएको हो।

नौगाड गाउँपालिकामा पर्ने काँटै–होपरीगाड सडकखण्डको २ किलोमिटर कालोपत्रे पनि यही वर्षको असारभित्र सम्पन्न गर्नेगरी ठेक्का सम्झौता भएको छ।

यता, खलङ्गा–गोकुलेश्वर सडकखण्डमा कालोपत्रे उप्किएको स्थानमा मर्मत कार्य जारी रहेको र एक किलोमिटर सडकखण्ड पुनःनिर्माण (रिह्याब) भइरहेको सूचना अधिकारी भट्टले बताए।

निर्वाचन क्षेत्र रणनीतिक सडक निर्माण तथा मर्मतको काम राजेन्द्र इन्द्रधनु जेभी निर्माण कम्पनीले गरिरहेको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय