दार्चुला — ब्याँस गाउँपालिका–१ स्थित छाङरु र टिंकर गाउँमा बसोबास गर्ने ब्याँसी सौका समुदाय गर्मी सुरु भएसँगै परम्परागत रूपमा ‘कुञ्चा’ सरेका छन्। यसपालि पनि उनीहरूले जिल्ला सदरमुकाम खलङ्गाबाट भारतको बाटो हुँदै आफ्ना पुर्ख्यौली थातथलो फर्किएका छन्।

वडा नम्बर १ का वडा अध्यक्ष अशोक सिंह बोहराका अनुसार, छाङरुका १४० घरधुरीमध्ये ७५ र टिंकरका ७१ घरधुरीमध्ये ३५ परिवारले कुञ्चा सरेका हुन्। सदा झैं, यो वर्ष पनि भारतकै बाटो हुँदै ब्याँस फर्किन बाध्य भएका हुन्।

हिउँदमा बाक्लो हिमपात हुने भएकाले ब्याँसी सौका समुदायले प्रत्येक वर्ष जाडोका छ महिनाका लागि खलङ्गा झर्ने र गर्मी लागेपछि पुनः छाङरु–टिंकर फर्कने परम्परा रहिआएको छ। उनीहरूले बसाइँ सर्ने प्रक्रियालाई आफ्नै भाषामा ‘कुञ्चा सर्नु’ भन्छन्।

वडा अध्यक्ष बोहराका अनुसार, खलङ्गाबाट आज निस्किएको कुञ्चा टोली पहिलो दिन दोभार, दोस्रो दिन किम्तोला, तेस्रो दिन नज्याङ, चौथो दिन गुदी हुँदै पाँचौ दिन छाङरु पुग्नेछ। छाङरु पुगेपछि टिंकरतिर लाग्नेहरूले थप एक दिन पैदल यात्रा गर्नु पर्ने हुन्छ।

नेपालतर्फ बाटो नहुँदा ब्याँसीहरू वर्षौंदेखि भारतको बाटो प्रयोग गर्दै आएका छन्। नेपाल–भारत सीमा नाका सीतापुल हुँदै उनीहरू भारत प्रवेश गर्छन् र त्यहीबाट छाङरु–टिंकर पुग्छन्। तर भारतीय सुरक्षाकर्मीको व्यवहार, अनुमति प्रक्रिया जस्ता समस्या झेल्नुपर्ने गुनासो ब्याँसीहरूबाट आएको छ।

गत माघ १४ गते सरकारले छाङरु–टिंकरसम्मको घोडेटो बाटो निर्माणका लागि ५ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। प्रक्रियागत ढिलाइका कारण यो वर्षको कुञ्चा भारतकै बाटोबाट गर्नुपरेको भए पनि आगामी वर्षदेखि भने नेपाली भुभाग भएर नै जान सकिने आशा वडा अध्यक्ष बोहराले व्यक्त गर्नुभयो।

गाउँ फर्किएपछि सौका समुदायले हिउँदे बाली भित्र्याउने र तरकारी खेती सुरु गर्ने तयारी गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय