दार्चुला – दार्चुलामा नेपाल विद्युत् प्राधिकरणले ग्रामिण विद्युतिकरणको काम तीव्र रुपमा अघि बढाइरहेको छ। दार्चुला–डोल्पा ग्रामिण विद्युतिकरण आयोजनामार्फत जिल्लाका सबै स्थानीय तहमा विद्युत विस्तार भइरहेको हो।
नेपाल विद्युत प्राधिकरणका इन्जिनियर तथा प्रोजेक्ट म्यानेजर मनोज बस्नेतका अनुसार, प्रोजेक्टले जिम्मा लिएको १२३ लोडसेन्टरमध्ये ८० वटामा ट्रान्सफर्मर जडान भइसकेको छ भने बाँकीमा आगामी असार मसान्तसम्म ट्रान्सफर्मर चार्ज गर्ने लक्ष्य लिइएको छ। यसअघि पनि दुई सयभन्दा बढी ट्रान्सफर्मरमार्फत विद्युत वितरण गरिएको थियो।
भौगोलिक विकटता भएका मार्मा गाउँपालिका–१ र अपिहिमाल गाउँपालिकाका केही क्षेत्रहरूमा काम गर्न कठिनाइ भएको भए पनि कार्यलाई तीव्र बनाइएको छ। हालै मात्र लेकम गाउँपालिकाको विकट रतौडा क्षेत्रमा ट्रान्सफर्मर जडान गरिएको छ। महाकाली, लेकम, मालिकार्जुन, दुहुँ, शैल्यशिखरलगायतका अधिकांश स्थानीय तहमा काम अन्तिम चरणमा पुगेको छ भने व्याँस, नौगाड, अपिहिमालमा पनि काम जारी छ।
दार्चुलामा हालसम्म ७० प्रतिशत अर्थात् करिब २० हजार घरधुरीमा विद्युत पुगेको विद्युत वितरण केन्द्र दार्चुलाका प्रमुख आनन्द सापकोटाले जानकारी दिनुभयो। हाल मासिक चारदेखि पाँच सय मिटर विद्युत मिटरको माग आइरहेको छ, जुन विद्युतिकरण कार्य तीव्र गतिमा भइरहेको संकेत हो।
हाल दार्चुलामा बलाँच, थालिगाड र सेलभिसामा रहेका तीनवटा शवस्टेसनमार्फत विद्युत वितरण भइरहेको छ। सिरोडा र दुहुँमा नयाँ शवस्टेसन निर्माणको तयारी भइरहेको सापकोटाले बताउनुभयो। यद्यपि बलाँच शवस्टेसनमा केही दिनअघि परेको चट्याङका कारण ट्रान्सफर्मर जलेपछि विद्युत आपूर्ति प्रभावित भएको थियो। अहिले देबीघाटबाट नयाँ ट्रान्सफर्मर ल्याएर जडान गर्ने तयारी भइरहेको छ।
दार्चुलामा विद्युतको मेनलाइन र शाखालाईनको काम तीव्र गतिमा भइरहेकाले तार र पोलको अभाव देखिएको प्रोजेक्ट इन्जिनियर बस्नेतले बताउनुभयो।
