दार्चुला, खलङ्गा — दार्चुला सदरमुकाम खलङ्गा नजिकैको महाकाली नगरपालिका–४ र ५ स्थित सीमा क्षेत्रमा भारतले बलमिच्याँई गर्दै गरेको तटबन्ध निर्माण कार्य तत्काल रोक्न प्रतिनिधिसभा सदस्य दिलेन्द्रप्रसाद बडूले माग गर्नुभएको छ।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत रहनुभएका सांसद बडूले भारतले नेपालसँग कुनै समन्वय नगरी नेपालको भूमि मिच्दै तटबन्ध निर्माण गरिरहेको बताउनुभयो। “सीमा क्षेत्रमा भइरहेका यस्ता गतिविधि तत्काल रोक्न र कूटनीतिक पहलमार्फत समस्या समाधान गर्न सरकार गम्भीर हुनुपर्छ,” उहाँले भन्नुभयो।

सांसद बडूले महाकाली नदी नियन्त्रण आयोजनाको कार्यालय खारेज गरेर बैतडीको पाटनमा स्थानान्तरण गरी नामसमेत परिवर्तन गरिनु गलत भएको उल्लेख गर्दै आयोजनाको कार्यालय पुनः दार्चुलामै स्थापना गर्नुपर्ने माग राख्नुभयो।

“सीमाना विवादका कारण दुई देशबीचको सम्बन्ध चिसिनु राम्रो होइन,” उहाँले भन्नुभयो, “स्थानीय नागरिकबीच समेत अप्रिय अवस्था सिर्जना हुनु नचाहिने हो, त्यसैले सरकारले तत्काल उच्च तहबाट कूटनीतिक पहल गर्नुपर्छ।”

सांसद बडूले परराष्ट्र मन्त्रालय र गृह मन्त्रालयको ध्यानाकर्षण गराउँदै दार्चुला क्षेत्रको सीमा विवादलाई दुवै देशको सहमतिमा स्थायी रूपमा समाधान गर्न आवश्यक रहेको उल्लेख गर्नुभएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय