भारतले गएराती पाकिस्तानमा गरेको हवाई आक्रमणमा परी दुई बालबालिकासहित सात जना पाकिस्तानीको ज्यान गएको छ भने ३५ जना घाइते भएका छन्। बीबीसीसहित पाकिस्तानी सञ्चारमाध्यमहरूले यो जानकारी दिएका हुन्।
पाकिस्तान सेनाको जनसम्पर्क विभाग (आईएसपीआर) का महानिर्देशक अहमेद सारिफ चौधरीलाई उद्धृत गर्दै आक्रमणका कारण मानवीय क्षति बढेको जनाइएको छ।
भारत सरकारले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरका नौ स्थानमा आक्रमण गरेको दाबी गरेको छ। तर, पाकिस्तानी सेनाले भने जम्मा तीन स्थानमा मात्र आक्रमण भएको पुष्टि गरेको छ। विस्फोटको ठूलो आवाजले पाकिस्तान प्रशासित कश्मीरको मुजफ्फराबाद क्षेत्रका बासिन्दा त्रसित बनेका छन्।
भारतले कश्मीरको पहलगाममा हालै भएका घातक आतंककारी आक्रमणको जवाफी कारबाहीस्वरूप हवाई आक्रमण गरेको बताएको छ। उक्त हमलामा एक नेपाली नागरिकसहित २६ जनाको ज्यान गएको थियो।
घटनापछि आणविक हतियारयुक्त भारत–पाकिस्तानबीचको सम्बन्ध झन् चिसिएको छ। दुबै देशले पूर्ण रूपमा कश्मीर क्षेत्रमाथि आफ्नो दाबी गर्दै आएका छन्।
