बैतडी, मेलौली — बैतडीको मेलौली नगरपालिका–७ स्थित काँडा क्याम्पस चोक नजिकै बिहीबार साँझ एक बोलेरो जीप दुर्घटनामा परेको छ। साँझ ६ बजेको समयमा रोकिराखिएको सु.प.प्र ०१ ००१ च २६६९ नम्बरको बोलेरो जीप करिब ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिनुभयो।
प्रहरीका अनुसार जीप गोठालापानीबाट शिवनाथ–१, शर्मालीतर्फ जानका लागि रोकिराखिएको थियो। उक्त जीप अचानक सडकबाट तल खसेको हो। दुर्घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीको भनाइ छ।
दुर्घटनाबाट मानवीय क्षति भएको/नभएको विवरण सार्वजनिक गरिएको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।
