दार्चुला – महाकाली कोरिडोरअन्तर्गत निर्माणाधीन दार्चुला–टिङ्कर सडक खण्डमा नेपाली सेनाले द्रुत गतिमा दुईतिरबाट ट्रयाक खोल्ने कार्य अगाडि बढाएको छ। व्यास गाउँपालिका–१ स्थित छाङरुको गागा र वडा नम्बर २ को दुम्लिङ क्षेत्रबाट ट्रयाक निर्माण कार्य सुरु गरिएको हो।

हालसम्म सेनाले व्यास गाउँपालिका–३ तुसारपानीदेखि कल्जु, आतुङ्ती, तम्बाकु हुँदै दुम्लिङसम्मको करिब १५.२ किलोमिटर ट्रयाक खोलिसकेको छ। नेपाली सेनाका प्रवक्ता सहायक रथी गौरवकुमार केसीका अनुसार आर्थिक वर्ष ०८०/८१ मा मात्रै १३.४ किलोमिटर ट्रयाक खुलाइएकोमा दुई किलोमिटरको स्तरोन्नति भइसकेको छ। चालु आर्थिक वर्षमा १.८ किलोमिटर ट्रयाक खोलिएको र १.२ किलोमिटर स्तरोन्नति गरिएको उनले जानकारी दिए।

तर, बजेटको अभावले निर्माणमा अपेक्षित गति लिन नसकेको उनले स्वीकारे। चालु आवमा नौ करोड रुपैयाँ मात्रै विनियोजन भएकोमा पछिल्लो समय पाँच करोड थप बजेट सरकारले उपलब्ध गराएको छ। उक्त बजेटबाट सेनाले छाङरु क्षेत्रमा क्याम्प निर्माण, आवश्यक उपकरण र मेसिनरी सामग्री ढुवानीमा जुटेको हो।

त्यसैगरी, फत्तङगाड, आतुङ्ती र तम्बाकु क्षेत्रमा समेत नयाँ ट्रयाक निर्माण गरिएको छ। फत्तङगाडमा २०० मिटर, आतुङ्तीमा ५०० मिटर र तम्बाकु क्षेत्रमा ५०० मिटरभन्दा बढी ट्रयाक निर्माण भएको छ। यसै वर्ष थप २०० मिटर ट्रयाक खोल्ने काम जारी रहेको जानकारी प्रवक्ताले दिएका छन्।

दार्चुला–टिङ्कर ७९ किलोमिटर सडक खण्डको शून्यविन्दुदेखि पाँच किलोमिटर दूरीसम्म सवारीसाधन सञ्चालन हुने अवस्थामा पुगेको छ। विशेषगरी तुसारपानीदेखि मालगाउँसम्म गाडी सञ्चालन भइरहेको छ।

सन् २०७७/७८ देखि सुरु गरिएको यो सडक निर्माणमा हालसम्म करिब १५ किलोमिटर मात्रै ट्रयाक खोलिएको छ। पाँच वर्षभित्र सडक निर्माण सम्पन्न गर्ने लक्ष्य रहे पनि बजेट र उपकरण अभावले योजना प्रभावित भएको निर्माणमा संलग्न इञ्जिनियरले बताए। हाल तल्लो क्षेत्रका स्थानीयबासी र नेपाली सेना मिलेर दुम्लिङ आसपास ट्रयाक निर्माणमा जुटिरहेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय