दार्चुला — जिल्लाको लेकम गाउँपालिका–५ अन्तर्गत पर्ने मैखोली क्षेत्रमा खानेपानीको चरम अभाव देखिएको छ। झण्डै १५० घरधुरी दैनिक रूपमा खानेपानीको समस्या झेलिरहेका छन्। बेलुका १० बजेसम्म पालो कुर्दा पनि पानी नपाइने अवस्था सिर्जना भएको स्थानीयहरूको भनाइ छ।
विगत तीन–चार वर्षदेखि नौलो सुक्दै गएको र पानीको स्रोत झनै संकटग्रस्त बन्दै गएको स्थानीय बताउँछन्। केही स्थानहरूमा बसन्ते बिरहत खानेपानी योजनाबाट थोरै पानी आउने गरे पनि त्यो सम्पूर्ण गाउँको माग पुरा गर्न पर्याप्त छैन।
स्थानीय बासिन्दा जगदीश जोशीका अनुसार, “हामी दिनभर काम गरेर फर्किएपछि पनि घरमा पानी छैन, पालोको प्रतीक्षा गर्नुपर्छ। कहिलेकाहीँ पालो आएर पनि पानी नआउने अवस्था हुन्छ। पानीको समस्या समाधानका लागि पटक–पटक सम्बन्धित निकायमा ध्यानाकर्षण गराउँदा पनि आवश्यक कदम चालिएको छैन।”
बालबालिका, वृद्ध, बिरामीदेखि लिएर सबै उमेर समूहका स्थानीयहरू पानीका लागि प्रतिदिन सास्ती भोगिरहेका छन्। स्थानीय तह र सम्बन्धित कार्यालयहरूले स्थायी समाधान खोज्नतर्फ चासो नदेखाएकोप्रति स्थानीयहरू चिन्तित छन्।
अब स्थायी खानेपानी स्रोतको व्यवस्थापन, नियमित आपूर्ति र योजना पुनरावलोकन आवश्यक भएको स्थानीयको माग छ। समस्या समाधानका लागि योजना, बजेट र प्रभावकारी कार्यान्वयन तत्काल आवश्यक रहेको जोशीको भनाइ छ।
