दार्चुला:दार्चुलाको नौगाड गाउँपालिका–६ धुलिगडमा माथिबाट खसेको ढुङ्गा लागेर एक वृद्धको घटनास्थलमै मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी छत्र रावतका अनुसार बुधबार बिहान करिब ७ बजेतिर नौगाड गाउँपालिका–६ धुलिगडाबाट बझाङतर्फ जाँदै गरेका ७० वर्षीय कालु जोशीको ढुङ्गा लागेर घटनास्थलमै मृत्यु भएको हो।
घटना स्थानीय रतपडे भन्ने स्थानमा भएको हो। बाटोमा हिँडिरहेका बेला अचानक माथिबाट खसेको ढुङ्गाले जोशीलाई लागेपछि उनी ढलेका थिए। घटनास्थलमै उनको ज्यान गएको प्रहरीले जनाएको छ।
जोशीसँगै रहेका सोही ठाउँका ४५ वर्षीय प्रताप धामी भने घाइते भएका छन्। घाइते धामीको स्थानीयवासीको सहयोगमा उद्धार गरी उपचारका लागि गोकुलेश्वर अस्पताल पठाइएको प्रहरी निरीक्षक रावतले जानकारी दिनुभयो।
घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट प्रहरी निरीक्षकको कमान्डमा प्रहरी टोली पठाइएको छ। गोकुलेश्वरबाट घटनास्थल पुग्न करिब २–३ घण्टा लाग्ने बताइएको छ।
यसैबीच, गए रातिदेखिको अविरल वर्षाका कारण खलङ्गा–दल्लेक सडक खण्ड अन्तर्गत मालबेलामा पहिरो खस्दा सडक अवरुद्ध भएको छ। सडक अबरुद्ध भएपछि खलङ्गाबाट नौगाड गाउँपालिका तथा आसपासका क्षेत्रमा जाने सवारीसाधन चल्न नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
सडक खुलाउने कार्यका लागि पहल भइरहेको र शीघ्र यातायात सुचारु गरिने प्रयास जारी रहेको प्रहरीले जनाएको छ।
