दार्चुला – मालिकार्जुन गाउँपालिका–६ उकुमा हिजो सम्पन्न एकदिने पशु स्वास्थ्य शिविरमार्फत ४ सय ७० वटा बाख्रामा देखिएका विभिन्न रोग तथा बाह्य परजीवीको उपचार गरिएको छ।
गुड नेईवर्स ईन्टरनेश्नलको आर्थिक सहयोग, मालिकार्जुन गाउँपालिकाको समन्वय तथा सामुदायिक ग्रामिण विकास समाज नेपालको आयोजनामा संचालन गरिएको उक्त शिविरमा बाख्रामा देखिने रोगहरूको नियन्त्रण तथा न्यूनीकरण गर्न आवश्यक औषधि र सेवा प्रदान गरिएको हो।
सामुदायिक ग्रामिण विकास समाज नेपालद्वारा सञ्चालित एकीकृत सामुदायिक विकास परियोजनाका सहकारी व्यवसाय विकास अधिकृत मनोरथ जोशीका अनुसार शिविरमा बाह्य परजीवी नियन्त्रणको खोप लगाउनुका साथै जुकाको औषधि र भिटामिन समेत वितरण गरिएको थियो।
शिविरमा मालिकार्जुन गाउँपालिकाका पशु प्राविधिक र परियोजनामा कार्यरत पशु प्राविधिक सिद्धार्थसिंह धामीसहितको टोलीले सेवा दिएको थियो। एक दिनसम्म सञ्चालन भएको शिविरमा स्थानीय क्षेत्रका करिब १०० जना किसानले आफ्ना बाख्राको उपचार गराएका थिए।

