काठमाडौं, असार १६ – राष्ट्रिय स्तरको लघुवित्त संस्था सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले हालको आर्थिक मन्दी र विगतको कोभिड महामारीले सिर्जित विषम परिस्थितिबाट प्रभावित आफ्ना ऋणी सदस्यहरूलाई लक्षित गर्दै विशेष आर्थिक सहुलियत कार्यक्रम सार्वजनिक गरेको छ।
नेपालका ७७ वटै जिल्लामा फैलिएको १२४ शाखामार्फत सेवा दिइरहेको संस्थाले ऋणीहरूलाई राहतस्वरूप पुनर्संरचना तथा पुनतिलिकीकरणको व्यवस्था मिलाएको छ। हालसम्मको भाका नाघेका कर्जाहरू एकमुष्ठ तिर्ने सदस्यलाई हालसम्मको पाकेको ब्याजमा अधिकतम ५० प्रतिशतसम्म छुट दिने निर्णय गरिएको हो। यस्तो छुट पाउन स्थानीय निकायको सिफारिस र शाखा कार्यालयको राय आवश्यक पर्नेछ।
त्यस्तै, आर्थिक अभावका कारण आफ्ना परियोजना सञ्चालन गर्न नसकेका सदस्यहरूलाई सहुलियतपूर्ण ब्याजदरमा पुनः कर्जा (Re-loan) उपलब्ध गराइनेछ। यो सुविधा लिन इच्छुक सदस्यहरूलाई आफु आबद्ध शाखा कार्यालयमा सम्पर्क गर्न आग्रह गरिएको छ।
साथै, संस्थामा आवद्ध ऋणी सदस्यहरूले कर्जा लिँदा तथा उपभोग गर्दा पालना गर्नुपर्ने विभिन्न निर्देशिकाहरू पनि सार्वजनिक गरिएको छ, जसमा एक मात्र संस्थाबाट कर्जा लिनु, कर्जाको सही सदुपयोग गर्नु, परियोजना बीमा गर्नु, र अनावश्यक शुल्कका सम्बन्धमा गुनासो दर्ता गर्ने अधिकार प्रयोग गर्नु लगायतका महत्वपूर्ण बुँदाहरू समावेश छन्।
सिवाईसी नेपालले लिएको यो कदम आर्थिक संकटबाट गुज्रिरहेका सदस्यहरूलाई आत्मनिर्भर बनाउने, व्यवसायिक पुनरुत्थानमा मद्दत गर्ने र उत्पादनशील क्षेत्रमा लगानी बढाउने विश्वास गरिएको छ।
