दार्चुला — देशकै अति दुर्गम क्षेत्र मानिने छाङरु–टिंकर जोड्ने घोरेटो पैदलमार्ग निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। व्याँस गाउँपालिका–२ को दुम्लिङदेखि व्याँस–१ छाङरुसम्म जोड्ने ३१ किलोमिटर लामो उक्त पैदलमार्गको करिब ९० प्रतिशत निर्माण सकिएको निर्माण कम्पनी ‘मिशन–देवहरि जेभी’ले जनाएको छ।

निर्माण व्यवसायी केशव बहादुर पालका अनुसार, जेठ महिनादेखि तीव्र गतिमा काम अघि बढाइएको छ। असार महिनाभित्र काम सम्पन्न गर्ने लक्ष्यसहित अहिले पाँच वटा समूहमा गरी १३० जना मजदुर परिचालन गरिएको छ। “विशेष गरी अप्ठ्यारो र कठिन भौगोलिक स्थानमा प्राथमिकताका साथ काम भइरहेको छ,” पालले भने।

सबैभन्दा चुनौतीपूर्ण माल्पा भीर क्षेत्रमा समेत निर्माण कार्य अन्तिम चरणमा पुगेको जानकारी दिँदै काममा खटिएका श्रमिक जनक धामीले महाकाली नदी माथि डोरीमा झुन्डिएर चट्टानी भाग ड्रिल गर्दै जोखिम मोलेर काम गरिरहेको बताए।

दार्चुलाबाट निर्वाचित संविधानसभा सदस्य तथा पूर्वमन्त्री गणेशसिंह ठगुन्ना, नेता हरदेब जोशी लगायत स्थानीय नेताहरूको पहलमा प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनअनुसार संघीय सरकारले पाँच करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो। सोही बजेटअन्तर्गत ठेक्का प्रक्रिया मार्फत काम अगाडि बढाइएको हो।

 

पूर्वप्रदेशसभा सदस्य गेल्बुसिंह बोहरा, वडाअध्यक्ष अशोकसिंह बोहरा, योगेश बोहरा लगायत स्थानीय समाजसेवी तथा जनप्रतिनिधिहरू निर्माण स्थलमा पुगेर काममा खटिएका श्रमिक तथा व्यवसायीलाई हौसला दिइरहेका छन्।

 

माल्पा भीर, अपिखोला, घाटीबगड, थी, तम्बाकु, घोप्टे जस्ता क्षेत्रमा काम पूरा भइसकेको छ भने दोपखेभन्दा तलका केही स्थानमा काम जारी छ। विगतमा नेपालतर्फको बाटो अभावमा भारतीय बाटो प्रयोग गर्न बाध्य रहेका छाङरु–टिंकरबासी अब स्वदेशकै बाटो भएर सहज रूपमा हिँडडुल गर्न सक्ने भएका छन्।

झन्डै २०० परिवार बसोबास गर्ने छाङरु–टिंकर क्षेत्रका बासिन्दाले अब गाउँबाटै सदरमुकाम आवतजावत गर्न सकिने आशा व्यक्त गरेका छन्। व्याँस गाउँपालिका र निर्माण कम्पनीबीच पाँच करोड छ लाख नौ हजार ९९४ रुपियाँको सम्झौता भएको थियो। कठिन भूभागमा पनि उत्साहजनक ढंगले काम भइरहेको स्थानीय वडाअध्यक्ष अशोकसिंह बोहराले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय